मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडीको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

सीमित साधन स्रोतका बाबजुद नेपाली खेलाडीको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री


गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद खेलका माध्यमबाट नेपाली खेलाडीले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । 
 
नवौँ राष्ट्रिय खेलकुदको बिहीबार पोखरामा आयोजित समापन समारोहमा उनले नेपाली खेलाडीले राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमा उत्कृष्ट प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताए । 
 
राज्यमा खेलको विशिष्ट महत्त्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसको विकासका लागि राज्यको लगानीसँगै निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहित गरिनुपर्नेमा जोड दिए । स्थानीय एवं प्रदेशस्तरमा खेलको विकासका लागि पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने उनले बताए । 
 
नवौँ राष्ट्रिय खेलकुदका सन्दर्भमा बनेका तथा स्तरोन्नति गरिएका पूर्वाधारको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । नवौँ राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न खट्ने युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतलाई प्रधानमन्त्रीले धन्यवाद व्यक्त गरे । 
 
यस राष्ट्रिय खेलकुदले खेल क्षेत्रका लागि विशष्ट योगदान गरेको बताउँदै उनले राष्ट्रिय खेलकुदलाई नियमित र व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए । नवौँ राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निमिस थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
 
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ राष्ट्रिय खेलकुद नेपाली खेल क्षेत्रका लागि महत्त्वपूर्ण बनेको बताए । गण्डकी प्रदेशमा सम्पन्न यस प्रतियोगिताले खेल क्षेत्रमा नयाँ नयाँ प्रतिभासमेत स्थापित गरेको उल्लेख गर्दै उनले गण्डकी प्रदेशको खेलको सम्भावनालाई थप उजागर गरेको बताए ।
 
खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले आगामी दिनमा यस क्षेत्रलाई अझै व्यवस्थित गर्दै लगिने विश्वास व्यक्त गरे । 
 
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले नवौँ राष्ट्रिय खेलकुदले गण्डकीलाई खेलको केन्द्रका रूपमा स्थापित गरेको बताए । खेललाई सम्पन्न गराउन योगदान गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरे ।
 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका खेल भव्यताका साथ सम्पन्न भएको बताए । राष्ट्रिय खेलकुद परिषद्को ११५औँ बोर्ड बैठकले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने निर्णय गरेको उनले जानकारी दिए । 
 
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानीमा सम्पन्न खेलले यहाँको खेलका सम्भावनालाई उजागर गरेको बताए । खेलकुदको समग्र विकासमा राज्यको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए । रासस