मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जिप भिरमा खस्यो : सात जनाको मृत्यु, १६ जना घाइते

जिप भिरमा खस्यो : सात जनाको मृत्यु, १६ जना घाइते


बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ भने १६ जना घाइते भएका छन् । 
 
सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप आज अपराह्न ४ बजे दुर्घटना हुँदा छ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । 
 
दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।
 
दुर्घटनामा घाइते १६ जनामध्ये पाँच जनाको अवस्था गम्भीर भएपछि धनगडी रिफर गरिएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका–२ का आठ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, चार वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्कीदेवी भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्टा गाँउपालिका–१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । 
 
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । रासस