मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लैङ्गिक समानता कायम गर्न संसद्ले अग्रणी भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना

लैङ्गिक समानता कायम गर्न संसद्ले अग्रणी भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक समानता कायम गर्न सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद्ले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । 
 
अफ्रिकी मुलुक रुवान्डाको किगालीमा आयोजित अन्तरव्यवस्थापकीय संघ (आइपियू)को १४५औँ सम्मेलनमा नेपालको सङ्घीय संसद्को तर्फबाट ‘लैङ्गिक समानता र लैङ्गिक संवेदनशील संसद् : जुझारु र शान्तिपूर्ण विश्वका लागि परिवर्तनको संवाहक’ विषयमा सम्बोधन गर्दै उनले पछिल्ला वर्षमा लैङ्गिक समानताका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए ।  
 
नेपालले पनि सन् २०१५ को संविधानबाट सङ्घीय संसद् र प्रदेशसभामा एक÷तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उनले नयाँ संविधानअनुसारको पहिलो निर्वाचनबाट संसद्मा ३४ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएका बताए । 
 
जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपले महिलालाई असमान प्रभाव पारेको जनाउँदै उनले बाढी, पहिरो, भूक्षयजस्ता जलवायु परिवर्तनको प्रभावले सिर्जित प्रकोपबाट विस्थापित महिला बेचबिखन र यौन हिंसाको बढी जोखिममा हुने बताए । जलवायु परिवर्तनका कारण उत्पादकत्व घटेर खाद्यान्नको उपलब्धता कम हुँदा परम्परागतरूपमै उत्पीडनमा परेका महिला भोकमरीको पहिलो सिकार हुने जोखिम बढेको बताए । 
 
जलवायु परिवर्तनको असर नेपालजस्ता हिमालय र पर्वतीय देशमा बढिरहेको जनाउँदै उहाँले तापमानका कारण हिमालको हिउँ पग्लिँदाको असर तल्लो तटीय र टापु मुलुकमा समेत पर्ने बताए । 
 
अत्यधिक कार्बन उत्सर्जन गर्ने ठूला औद्योगिक र शक्ति राष्ट्रले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणको प्रतिबद्धता र लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले कार्बन उत्सर्जन कम गर्ने मुलुकलाई त्यसबापतको रकम विकास सहायता र गरिबी निवारण कार्यक्रमका रूपमा उपलब्ध गराउनु आवश्यक रहेको बताए । 
 
“स्वास्थ्य सङ्कट, जलवायु सङ्कट र द्वन्द्वबाट सिर्जित सङ्कट व्याप्त रहेको आजको विश्वलाई यी सङ्कटबाट मुक्ति दिलाउँदै जुझारु र शान्तिपूर्ण बनाउन यस्ता सङ्कटबाट ठूलो मार खप्नुपरेका महिलाको सशक्तीकरण र समावेशीकरण अपरिहार्य छ”, उनले भने, “विश्वको आधा जनसङ्ख्या ओगटेका महिलाको सक्रिय र निर्णायक सहभागिताबिना यस्ता जटिल सङ्कटको सामना गर्न सम्भव छैन ।” रासस