मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित’

‘अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित’


तेहरान । इरान सरकारका प्रवक्ताले अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित भएका बताएका छन् । अमेरिकी प्रतिबन्धका कारण  इरानलाई जीवनदायी औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन कठिन भएको बताउँदै उनले अमेरिकाको कठोर शब्दमा आलोचना गरेका छन् । 
 
सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले तेहरानमा मङ्गलबार भएको साप्ताहिक पत्रकार सम्मेलनमा औषधि बनाउने कच्चा सामग्रीबाट हामीलाई वञ्चित गर्ने अमेरिकी कपट प्रष्ट भएको बताए । राम्ररी शिर नढाकेको अभियोगमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी महिलाहरूको पक्षमा वकालत गरेको दाबी गर्ने अमेरिकाको कपटपूर्ण व्यवहारको पर्दाफास भएको उनले बताए । 
 
२२ वर्षीया अमिनीको मृत्युपछि केही पश्चिमा देशले गरेका टिप्पणी र चालेका कदमको बारेमा बोल्दै जाहरोमीले उनका ती कदमले देशका महिलाहरूलाई समर्थन गर्ने बहानामा इरानमा दङ्गा भड्काउने उद्देश्य रहेको र त्यसबाट ती देशको दोहोरो मापदण्ड प्रकट भएको बताए । उनले इरानीहरूलाई आवश्यक औषधिमा पहुँच नदिनु अमानवीय भएको बताउँदै अमेरिकासहित पश्चिमा देशको आलोचना गरे ।  
 
प्रवक्ता जाहरोमीले डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको इरानको दूतावास परिसरमा शुक्रबार भएको आक्रमणलाई सङ्केत गर्दै इरानी राजदूत अफसानेह नादिपुर र अन्य कर्मचारीहरूलाई धम्की दिइएको थियो र सवारीसाधनमा क्षति पुगेको अप्रत्यक्षरूपमा उल्लेख गरे । 
 
उनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका फिर्ता हुनु र इरानमा पुनः लगाइएको प्रतिबन्धले इरानी सरकारलाई आफ्ना जनताको अधिकारको रक्षा गर्न र प्रतिबन्धहरू हटाउन थप दृढ तुल्याएको बताए । 
 
संयुक्त राज्य अमेरिकाले औषधि र खाद्यवस्तुलगायत मानवीय वस्तुहरू प्रतिबन्धको सूचीमा समावेश नगरेको दाबी गरे पनि इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा लगाइएको नाकाबन्दीले व्यवहारमा उसलाई त्यस्ता वस्तु आयात गर्नबाट वञ्चित गरेको छ । सिन्ह्वा