मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रधानमन्त्री देउवाको उमेदवारीविरुद्ध परेको उजुरी गैरकानुनी

प्रधानमन्त्री देउवाको उमेदवारीविरुद्ध परेको उजुरी गैरकानुनी


डडेल्धुरा । डडेल्धुरा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेदवारी कायम रहने भएको छ । उनको उमेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उमेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
 
“उमेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उमेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौँ”, उनले भने, “उमेदवारका सबै कागजात कानुनसम्मत देखिएको छ, उमेदवारविरुद्ध परेको उजुरी भने कानुनसम्मत देखिएन ।”
 
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उमेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । 
 
देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उमेदवारी खारेजीको मागसहित उजुरी दिएका थिए । 
 
देउवाको उमेदवारीविरुद्ध उजुरी दिने मल्ल कांग्रेसका पूर्वडडेल्धुरा सभापति हुन् । उनी विसं २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्दै कांग्रेस बिपीको चुनाव चिह्नबाट आफू निकटका व्यक्तिलाई उमेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्काशित गरेको थियो ।
 
अहिले कांग्रेस बिपीका वरिष्ठ उपसभापति रहेका मल्लले प्रधानमन्त्री देउवाविरुद्ध उमेदवारी दर्ता गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ उमेदवारले मनोनयन दर्ता गराएका छन् ।