मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यक : मन्त्री यादव

जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरण आवश्यक : मन्त्री यादव


अमेरिका । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्त्व रहेको बताएका छन् । 
 
अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे । उनले भने, “जलवायु परिर्वतनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ ।”  मन्त्री यादले कार्यक्रममा सहभागी हुन पाउनु नेपालका लागि सम्मानको विषय भएको जानकारी गराए । 
 
उनले नेपालले जलवायु परिवर्तन नीति २०१९ लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डाको लागि नेपालको प्राथमिक मार्गदर्शक दस्तावेजको रुपमा कार्यान्वयन गरिरहेको जानकारी दिए । 
 
उनले सन् २०२१ मा नेपालले नेट शून्य उत्सर्जनका लागि दीर्घकालीन रणनीति विकास गरेको हुँदा यसको माध्यमबाट २०३० सम्ममा अत्यन्त न्यून उत्सर्जन र २०४५ सम्ममा पूर्ण शून्य उत्सर्जन हासिल गर्ने प्रयास गरेको जानकारी गराए ।
 
मन्त्री यादवले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र पहिले नै तापमान र वर्षामा विश्वव्यापी औसतभन्दा धेरै छिटो दरमा परिवर्तन अनुभव गरिसकेकाले भौगोलिक रुपमा नेपालका हिमालमा द्रुत हिउँ र बरफ पग्लने र मनसुनको समयमा पहाडी क्षेत्रमा मुसलधारे वर्षाका कारण उत्पन्न हुने जलवायु जोखिमको दायरामा परेको बताए । 
 
सन् २०२० मा नेपालले पेरिस जलवायु सम्झौतालाई अनुमोदन गर्नुका साथै र उत्सर्जन घटाउने देशको प्रतिबद्धतालाई सुदृढ पार्ने उद्देश्यले दोस्रो एनडिसी पेस गरेको जानकारी गराए ।
 
यसैगरी उनले नेपालले  वित्तीय स्रोत, उन्नत प्रविधि र उच्च दक्षजनशक्तिको माग गर्दै आएको र नेपालका साझेदारहरुलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगबिना नेपालले मात्रै निर्धारित लक्ष्य हासिल गर्न नसक्नेसमेत स्पष्ट पारे । 
 
नेपालको दीर्घकालीन रणनीतिले कार्बन तटस्थ, समावेशी र जलवायु अनुकूल भविष्यतर्फ साहसी नीति निर्माण, सामाजिक रुपान्तरण र प्राविधिक विकासको परिकल्पना गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जलवायु परिवर्तन नीति र ‘एजेन्डा’मा काम गर्न आवश्यक संस्थागत क्षमता तयार गरिरहेको उनले जिकिर गरे । 
 
नेपालको जलवायु परिवर्तन परिषद् अन्तर्राष्ट्रिय जलवायु परिवर्तन एजेन्डा समन्वय गर्ने संस्थागत निकाय भएको र नेपाल सरकारले जलवायु परिवर्तनसम्बन्धी आवश्यक नीति र सङ्गठनात्मक क्षमता राखेको भए पनि स्रोत र प्रविधिको सीमितताका कारण कार्यान्वयनमा चुनौती हुँदै आएको छ भने । 
 
नेपाल साझा तर फरक जिम्मेवारी र क्षमताको सिद्धान्तमा जलवायु कार्यलाई तीव्रता दिन प्रतिबद्ध रहेको मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराए ।
 
नेपालले पनि स्वच्छ ऊर्जा व्यापारमार्फत आफ्नो सिमाना बाहिर न्यूनीकरण योगदानको लागि मान्यता खोज्दै आएको र जलवायु र स्वच्छ वायु गठबन्धनमा नेपालको सदस्यताले राष्ट्रिय रणनीति र अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न मद्दत गर्ने उनले जानकारी दिए । 
 
नेपालजस्ता विकासोन्मुख देशका लागि अनुकूलन बढी महत्त्वपूर्ण भएको र जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्त्व रहेको उनले चर्चा गरे । नेपालले जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याउने परियोजनाको ‘पाइलटिङ’ गरिरहेको जानकारी गराउँदै मन्त्री यादवले नेपालले नेपालमा बढ्दो समस्यालाई सम्बोधन गर्न मानिस, जनावर र वातावरणका लागि स्वास्थ्य नीति ल्याउन लागेको जानकारी दिए । 
 
नेपालमा अल्पकालीन जलवायु प्रदूषण र अन्य प्रयास तथा प्रतिबद्धता कम गर्न सिसिएसीसँग निरन्तर समन्वयको अपेक्षा गर्दै आएको मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराए । रासस