मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

गुरुङ युनाइटेड कपको उपाधि म्याग्दी समाज अमेरिकालाई

गुरुङ युनाइटेड कपको उपाधि म्याग्दी समाज अमेरिकालाई


न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क, युएसएले पहिलोपटक ३५ वर्ष माथिको उमेर समूहका युवालाई लक्षित गरी आयोजना गरेको गुरुङ युनाइटेड कप भलिबल टुर्नामेन्टको उपाधि म्याग्दी समाज अमेरिकाले हात पारेको छ । 
 
पहिलो विजेताले १५ सय डलर नगदसहित गुरुङ युनाइटेड कप प्राप्त गरेको भने आयोजक संस्था द गुरुङ तमु सोसाइटीको टिम गुरुङ युनाइटेडले दोस्रो विजेताको स्थान हासिल गरेको छ । दोस्रो विजेता गुरुङ युनाइटेडले कपसहित एक हजार डलर नगद प्राप्त गरेको छ । 
 
टुर्नामेन्टमा आयोजकसहित आठ वटा टिम सहभागी भएका थिए । आयोजकसहित रिजउड नेपाल समाज, हेर्पा किदुग युएसए, म्याग्दी समाज अमेरिका, मगर संघ अमेरिका, किरात राई सोसायटी अफ अमेरिका, एनवाइसी क्लब तथा रेड पाण्डाले प्रतिष्पर्धामा भाग लिएका थिए । 
 
आठ समूहबीच विभिन्न चरणमा भएको प्रतियोगिताको फाइनल खेल दोसे विजेता गुरुङ युनाइटेड र उपाधि विजेता म्याग्दी समाज अमेरिकाबीच प्रतिष्पर्धा भएको थियो । 
 
त्यस्तै, खेलमा सोम बुढाथोकी सर्वश्रेष्ठ खेलाडी, श्री गुरुङ सर्वश्रेष्ठ स्पाइकर,  गोविन्द रोका क्षेत्री सर्वश्रेष्ठ डिफेन्डर र हरिप्रसाद राणा सर्वश्रेष्ठ रेजर भएका छन् । समाजले गएको वर्ष पनि हर्क गुरुङ भलिबल कप आयोजना गरेको थियो । 
 
द गुरुङ तमु सोसाइटीका अध्यक्ष तोरण गुरुङले स्वास्थ्य नै जीवन हो र स्वस्थ जीवनका लागि खेल महत्त्वपूर्ण भएकोले खेलको माध्यमबाट युवाहरुलाई स्वस्थ रहनुपर्छ तर त्यसको लागि नियमितरुपमा अभ्यास गर्नु आवश्यक छ भन्ने सन्देश दिनका लागि गुरुङ युनाइटेड कपको आयोजना गरेको बताए । 
 
त्यस्तै गुरुङ युनाइटेड कपका संयोजक तथा द गुरुङ तमु सोसाइटीका खेल व्यवस्थापक तथा अञ्जित गुरुङले यस्ता प्रतियोगिताका माध्यमबाट विभिन्न समुदायका युवाहरुबीच आपसी सद्भाव र भाइचारा कायम गर्न यस्ता प्रतियोगिता गरिएको जानकारी दिए । 
 
सोसाइटीका सचिव अलिशा गुरुङले कार्यक्रम सफल बनाउनका लागि सल्लाहकार, आजीवन सदस्यहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, समाजका सदस्यहरुलगायत विभिन्न व्यापारिक संस्थाले आर्थिक तथा भौतिक सहयोग गरेको जानकरी दिँदै सबैलाई धन्यवाद दिए । 
 
यसैगरी गुरुङ (तमु) सोसाइटी चेलीबेटी आमा समूहका दिदीबहिनीहरूले खेलाडीहरुका लागि खानाको व्यवस्थापन गरेको उल्लेख गर्दै चेलीबेटी आमा समुहलाई सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । 
 
कार्यक्रममा कलाकारहरु रूथमान गुरुङ र एन्सार्ज गुरुङले नृत्य प्रस्तुत गरेका थिए । आयोजकले कार्यक्रम संयोजक, खेलाडी तथा सहभागी टिमका सम्पूर्ण खेलाडीहरुलगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।

शेयर गर्नुहोस:

162
Shares