मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनका तीन पत्रकारसहित चार जनालाई सम्मान

चितवनका तीन पत्रकारसहित चार जनालाई सम्मान


रतपुर । बिएण्डबी मिडिया प्रालिद्वारा चितवनबाट प्रकाशित न्युज प्रवाह साप्ताहिकले सोमबार प्रथम वार्षिकोत्सव मनाएको छ । सो क्रममा चितवनका तीन जना पत्रकारसहित चार जनालाई सम्मान गरिनुका साथै ‘वार्षिक विशेषाङ्क’समेत विमोचन गरिएको छ । संस्था स्थापनाको पहिलो वर्ष पूरा गरेको अवसरमा एकसाथ तीन जना चितवन पोष्टकर्मीलाई सम्मान गरिएको हो ।
 
संस्थाको स्थापनाकालदेखि नै सल्लाह, सुझावसहित संस्था सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै चितवन पोष्ट दैनिकका सह–सम्पादक एवं हिमालय खबरका नेपाल सम्पादक केशव भट्टराई, पूर्वी चितवन संवाददाता होमनाथ सापकोटा र संवाददाता तुलमान गुरूङलाई राप्ती नगरपालिकाका मेयर शमशेर लामाको हातबाट सम्मान गरिएको हो ।
 
यस्तै संस्था सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै व्यवसायी राजाराम त्रिपाठीलाई समेत सम्मान गरिएको छ । करिब दुई दशकयता चितवनको पत्रकारितामा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बिएण्डबी मिडिया प्रालिका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
 
कार्यक्रममा राप्ती नगरपालिकाका मेयर शमशेर लामाले पछिल्लो समय चितवनको पत्रकारिता क्षेत्र फस्टाउँदै गएको र त्यसले जनता र जनप्रतिनिधिलाई पनि सजग गराउने काम गर्दै आएको बताए । जनप्रतिनिधिलाई सफल बनाउनुमा पत्रकार तथा सञ्चारमाध्यमकै हात सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै आवश्यक परेको स्थानमा झक्झक्याउन उनले आग्रह गरे । ‘हामी जनताको काम गर्नकै लागि जनप्रतिनिधि भएर आएका हौँ,’ उनले भने, ‘त्यसैले हामीले गरेका हरेक कामलाई बाहिर ल्याइदिने काम पनि पत्रकारहरूकै हातमा छ ।’
 
नेपाल पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले भने दूरदराजमा रहेका आवाजविहीनहरूको आवाजलाई पत्रकारले मात्रै उठाइदिएर नहुने बताए । ‘जनप्रतिनिधिले नै चासो दिएनन् भने हामीले समाचार लेख्दैमा कुनै पनि ठाउँको विकास हुने होइन, त्यसैले समाचारमा आइसकेपछि जनप्रतिनिधिले चासो देखाउनुपर्छ ।’ जिल्लाको अधिकांश पहाडी भेगमा विपन्न र पिछडिएको चेपाङ समुदायको बसोबास रहेको हुँदा त्यस्ता समुदायको क्षेत्रमा अलि बढी ध्यान दिन उनले आग्रह गरे ।
 
नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष मैतसिंह तामाङले पत्रकारिता क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको उपस्थिति बाक्लिँदै जाँदा बाहिर आउन नसकेका आवाज आउन थालेको बताए । ‘पत्रकारिता भनेको समग्रमा सबै समुदाय र क्षेत्रको लागि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘तर, अहिले हामीलाई चाहिँ हाम्रो आवाज बाहिर आउन थालेपछि हाम्रै लागि काम गरिदिएकोजस्तो महसुस हुँदो रहेछ ।’
 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगरले आदिवासी जनजाति समुदायको क्षेत्रबाट करिब दुई दशकसम्म पत्रकारिता क्षेत्रमा निर्वाह गरेको योगदान र अनुभवको आधारमा आज न्युज प्रवाहको साप्ताहिक र अनलाइन संस्करण चल्न सफल भएको बताए । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन उनले आग्रह गरे ।
 
बिएण्डबी मिडिया प्रालिका सञ्चालक बिक्रम गुरूङले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ भरतपुर महानगर समन्वय परिषद्का अध्यक्ष एवम् अधिवक्ता अजयकुमार तामाङ, तामाङ पत्रकार संघका संघीय समिति सचिव उर्गेन तामाङ, प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष प्रा. हरिप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।