मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक : गृहमन्त्री खाण


रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन् । 
 
रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए । “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन”, उनले भने । 
 
गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरिकताबाट वञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गरे । 
 
लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद् भएको चर्चा गर्दै उनले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लङ्घन हुनु गलत भएको बताए ।  “नागरिकता नहुँदा एउटा सिमकार्ड किन्नसमेत समस्या सिर्जना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने ?”, उनले प्रश्न गरे ।
 
मन र मस्तिष्क जोडेर काम गर्नसके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उनले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्याङ्कनसमेत गर्न आग्रह गरे ।
 
आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले सङ्घीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गरे । आगामी दिनमा सरकारले यसलाई चिर्न सक्नुपर्ने उनको भनाइ थियो ।
 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव चन्द्रप्रकाश खनालले राजनीतिलाई सहीदिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गरे ।
 
आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले सुशासन आफैँमा राम्रो शब्द भए पनि विश्लेषकले सुशासनको अवस्था राम्रो नभएको औँल्याएको बताए । 
 
रिपोर्टस् क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गणतन्त्र र सङ्घीयतालाई अघि बढाउन क्लबले मिसन पत्रकारिता गरेको बताए । रासस