मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

उमेदवार बन्न प्रतिस्पर्धा गर्नेले त्याग गर्न पनि जान्नुपर्छ : गृहमन्त्री खाण

उमेदवार बन्न प्रतिस्पर्धा गर्नेले त्याग गर्न पनि जान्नुपर्छ : गृहमन्त्री खाण


भैरहवा । गृहमन्त्री बालकुष्ण खाणले बुद्धको शिक्षा आत्मसात् गर्नु सबैको दायित्व भएको जिकिर गरेका छन् । भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटनका क्रममा गर्दै गृहमन्त्री खाणले अहिले निर्वाचनमा उमेदवार बन्न नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैँ त्याग गर्न पनि आवश्यक रहेको बताए । 
 
“यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो”, उनले भने, “तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।”
 
मन्त्री खाणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे । 
 
मानव जीवनको सुरुआतमा खराबी भए पनि अन्तिममा शान्तिमार्गमा लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको उनले बताए । साथै गृहमन्त्री खाणले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने बताए । “उचित रेखदेखका लागि सरकारले बजेट व्यवस्थापन गरेर उहाँको जीवन सहज बनाउने निर्णय गरिएको छ”, उनले भने । 
 
कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीयस्थलको प्रवर्द्धनमा सरकार लागेको बताए । यसका साथै प्रदेशमा रहेका विभिन्न धार्मिकस्थलको विकास र यसको प्रवर्द्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाइ थियो । 
 
लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटन मन्त्रालयको १५ लाख, सिद्धार्थनगर नगरपालिकाको पाँच लाख र अन्य दाताबाट गरी ३० लाखभन्दा बढीको लागतमा भैरहवामा रहेको शान्ति बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो । गुम्बामा अहिले ३५ विद्यार्थी, आनी एवम् लामा गुरु आठजना रहेको गुम्बाका अध्यक्ष आसबहादुर गुरुङले जानकारी दिए । रासस