मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दलको विकल्प स्वतन्त्र होइन तर सुधारका लागि चयन हुनुपर्छ : विज्ञहरु

दलको विकल्प स्वतन्त्र होइन तर सुधारका लागि चयन हुनुपर्छ : विज्ञहरु


काठमाडौँ । राजनीतिक दलको विकल्प स्वतन्त्र हुन नसक्ने तर उनीहरुको चयनले सुधार हुन दललाई झक्झकाएको सरोकारवाला विज्ञहरुले औँल्याएका छन् । 
 
स्थानीय तहको निर्वाचनको आगामी सङ्घीय निर्वाचनमा पर्ने प्रभावका सन्दर्भमा ‘सोसियल डेमोक्रेटिक फाउन्डेसन’ ले सोमबार सरोकारवालासँग गरेको छलफलका वक्ताले दलबाट दिक्क भएका मतदाताले स्वतन्त्र व्यक्तिलाई चयन गरेको बताए । 
 
उनीहरुले दलहरु बेलैमा सुध्रन जरुरी भएको बताउँदै राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण पनि वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गरे ।
 
पूर्वनिर्वाचन आयुक्त इला शर्माले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारण वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेको उल्लेख गरिन् । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लहरले दलसँग जनता निराशावादी छन् भन्ने सन्देश दिएको छ भनिन् । स्थानीय तहको निर्वाचनमा युवा र महिलाको तुलनात्मक सहभागिता बढेका भन्दै आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पनि महिला र युवा सहभागिता बढ्नुपर्नेमा जोड दिइन् ।
 
प्रा बालकृष्ण माबुहाङले राजनीतिक दलबाट दिक्क भएका मतदाताले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र व्यक्तिलाई मत दिएर दलहरुलाई सचेत गराएको बताए । उनले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र मतदाताले उनीहरुलाई मत दिने लहर आउने सङ्घीय र प्रदेश निर्वाचनमा पनि देखिने लक्षण रहेको भन्दै दलहरु बेलैमा सजक हुनुपर्ने धारणा राखे ।
 
समाजशास्त्री डा मीना पौडेलले राजनीतिभित्रको बेथितिबाट दिक्क भएका मतदाताले स्थानीय निर्वाचनमा नैराश्यता प्रदर्शन गरेको भन्दै यसबाट दलहरुले बेलैमा पाठ सिकेर जनभावनाअनुरुप अघि बढन् जरुरी छ भनिन् । उनले जागरुक समूहले सकारात्मक पक्षको खोजिरहेको वैकल्पिक धार निर्माण गर्नसक्ने आधार बनाएको बताइन् ।  
 
स्वतन्त्र व्यक्तिको चयनले दलीय पद्धतिलाई कमजोर बनाउनेभन्दा पनि दलभित्र सुधार खोजेको भन्दै उनले गिजोलिएको राजनीतिलाई व्यवस्थित ढङ्गले अघि बढाउन स्वतन्त्रको मतले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
 
सहप्राध्यापक लेखनाथ पाण्डेले स्थानीय निर्वाचनमा स्वतन्त्रहरुको उपस्थितिले राजनीतिक दललाई चुनौती दिएको उल्लेख गरे । उनले दलहरुभित्र आन्तरिक प्रजातन्त्रको अभ्यास कमजोर बनिरहेको, पहुँच र शक्तिको दुरुपयोग भइरहेको टिप्पणी गर्दै ठूला दललाई सच्चिन स्थानीय निकायको परिणामले सङ्केत गरेको बताए । रासस