इजुमी । जापानको दक्षिणी टापु क्युसुमा भीषण समुद्री आँधी अवतरणसँगै कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।
नान्मादोल नाम दिइएको उक्त आँधी प्रतिघन्टा १८० किलोमिटरको गतिमा अघि बढिरहेको छ । आँधीसँगै आइतबार दिउँसो तथा राति गरेर २० इन्चसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने बताइएको छ भने सावधानीस्वरूप तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका छन् ।
आइतबार बिहान क्युसुको दक्षिणी शिर कागोसिमा सहरनजिकै अवतरण भएको आँधीका कारण एक करोड ३० लाखभन्दा बढी जनसङ्ख्या रहेको क्युसुमा सामान्य जनजीवन प्रभावित बनेको हो । उक्त द्वीप जापानका चार मुख्य टापुमध्ये सबैभन्दा दक्षिणमा पर्छ ।
अधिकारीहरूले उक्त टापुमा सर्वसाधारणलाई सचेत बनाउन ‘विशेष सूचना’ जारी गरेका छन् । ओकिनावा प्रिफेक्चरबाहिर जारी भएको त्यस्तो सूचना हालसम्मकै पहिलो भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने र वायुको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जनाएको छ ।
उक्त आँधी अहिले क्युसुमा उत्तरतर्फ बढिरहेको छ र त्यसले टापुको मध्यभागमा अवस्थित पर्वतीय क्षेत्रमा ठूलो वर्षा गराइरहेको छ । यो आउँदा दिनमा जापानको मध्यतिर हुँदै टोकियोसम्म पुग्ने अपेक्षा गरिएको छ । त्यस क्रममा यो उत्तिकै शक्तिशाली हुने बताइएको छ ।
जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् । एएफपी
प्रतिक्रिया