मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

माओवादीले समानुपातिक सांसद् नदोहोर्‍याउने

माओवादीले समानुपातिक सांसद् नदोहोर्‍याउने


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फका सांसद् नदोहोर्‍याउने निर्णय गरेको छ । 
 
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारीको बैठकले समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने निर्णय गरेको हो ।  
 
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारलाई समानुपातिकमा प्राथमिकता नदिने र बन्दसूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेको हुनुपर्ने पदाधिकारी बैठकको निष्कर्ष छ ।  
 
बैठकले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार गर्न सम्बन्धित प्रदेशले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सूची पेश गर्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
 
बैठकमा अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको थियो । बैठकले समिति प्रमुखको उपस्थितिमा थप छलफल गरि अन्तर्घातमा संलग्नलाई आवश्यक कारबाही गर्ने निर्णय गरेको छ ।
 
बैठकमा अध्यक्ष दाहालले निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलका बीचमा सकारात्मक छलफल भएको जानकारी गराएका थिए । समानुपातिक प्रतिनिधित्व सूची पेश गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठक बसी क्षेत्र बाँडफाँट टुङ्ग्याउने समझदारी बनेको उनले बताएका थिए । रासस