मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतमा नरेश चार्ल्स तृतीय नयाँ राजा घोषित, जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

बेलायतमा नरेश चार्ल्स तृतीय नयाँ राजा घोषित, जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता


बेलायत । राजा चार्ल्स तृतीयलाई औपचारिकरूपमा बेलायतको नयाँ नरेश घोषणा गरिएको छ । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो । 
 
घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस,  पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलाइतको संविधानअनुसार युवराज चार्ल्स स्वतः राजा भएका हुन् ।  
 
शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे । 
 
राष्ट्रका नाममा गरेको सम्बोधनमा नवनरेश चार्ल्सले “मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु,” भने ।
 
जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता 
 
बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै आफूले पनि आफ्नी आमाले झैँ आफ्नो जीवन पूरै सेवामा समर्पित गर्ने घोषणा गरेका छन् ।  
 
बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उनका जेठा छोरा चार्ल्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन् । राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुःखी रहेको उल्लेख गरेका छन् ।  
 
उनले आफ्नी आमालाई आफू र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उनको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताए ।  
 
उनले भनेका छन्, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।”
 
अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुःखी रहेको राजा चार्ल्सले सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।  
 
“मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,” उनले भनेका छन् । 
 
एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभर कहिल्यै कम नभएको पनि उनले उल्लेख गरेका छन् ।  
 
राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुसी, दुःख, समस्या आदि कुनै पनि बेला उहाँ विचलित नहुनु भएको राजा चार्ल्सले स्मरण गरे । 
 
उनले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भए पनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चार्ल्सले उल्लेख गरेका छन् । -रासस/सिन्ह्वा/एएनआई (तस्बिर:एएफपी)