मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य : अध्यक्ष यादव

लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य : अध्यक्ष यादव


नुषा । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । 
 
जनकपुरधाममा शनिबार आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको स्मरण गराए । 
 
अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि सङ्घीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिए । उनले गठबन्धन अपरिहार्य रहे पनि मधेसी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पारे ।
 
मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै अध्यक्ष यादवले मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुने धारणासमेत राखे । उनले सामाजिक विकृतिका रुपमा रहेका पिछडावर्ग माथिको अन्याय अन्तका लागि संवैधानिकरुपमै पहल गर्नुपर्ने उल्लेख गर्दै दलित र पिछडा वर्गको उन्नतिविना देशको समृद्धि कल्पनासमेत गर्न नसकिने बताए ।
 
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठूलो  हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै उनीहरुको सामाजिक उत्थानका लागि प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको बताए । उनले पिछडा वर्गको सूचीकरणलगायत कामका लागि छुट्टै समिति बनाउनु आवश्यक रहेको उल्लेख गर्दै ऐन बनाउन नसकिए पनि अध्यादेशबाटै समिति बनाउने प्रक्रियामा रहेको बताए ।
 
पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादव, जसपा नेता बलराम महतोलगायतले सम्बोधन गरेका थिए । रासस