मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौँ । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
 
श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । 
 
समूह बी मा नै रहेको भूटान भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भारतले पनि भूटानलाई पराजित गरेको थियो । नेपालको जीतमा सरोज दर्लामी, उनेश बूढाथोकी र सुवास बमले समान १–१ गोल गरे । खेलमा सुरुआती अग्रता भने भारतले लिएको थियो । खेलको २५औँ मिनेटमा भारतका ड्यानी मेइटीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए । 
 
भारतको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४५ औँ मिनेटमा नेपालका सरोजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हापसम्म १–१ गोलको बरबरीमा खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल थप्यो । 
 
खेलको ४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई दोस्रो अग्रता दिलाए । यसैगरी खेलको ६८औँ मिनेटमा नेपालका अर्का खेलाडी सुवासले एक गर्दै नेपाललाई ३–१ गोलको जीत दिलाए । 
 
यस जीतसँगै नेपालले शीर्ष ६ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा भूटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितमा नेपालसहित भारत, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी छ राष्ट्र सहभागी छन् । रासस