मस्को । तत्कालीन सोभियत संघका पूर्वराष्ट्रपति मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको मस्कोस्थित अस्पतालका अधिकारीले बताएका छन् । लामो समयदेखि बिरामी उनको उपचारको क्रममा निधन भएको यहाँस्थित केन्द्रीय क्लिनिकल अस्पतालले बताएको छ ।
रक्तपात बिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत संघको पतन रोक्न असफल नेता गोर्बाचोभ विश्वकै विशाल राष्ट्रको अन्तिम राष्ट्रपति थिए । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरूसँगको साझेदारीमा विभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध गर्न तथा जर्मनीको एकीकरणमा उनको योगदान स्मरणीय छ ।
अमेरिका राष्ट्रपति रोनाल्ड रेगन र जर्ज बुशसँगका शिखरवार्ता र तिनले आणविक हातहतियारको दुइदेशीय होडबाजी घटाउन मद्दत गरेकाले उनी विश्वरङ्गमञ्चमा सधैँ चर्चाको चुलीमा रहेका थिए ।
‘ग्लास्तोनास्तो पेरेस्त्रोइका’ का प्रवर्तक उनी देशको आन्तरिक सुधारका निम्ति थालेका कामका कारण अन्ततः विशाल सोभियत संघलाई टुक्रिनबाट जोगाउन अक्षम भए । तानाशाही सोभियत राज्यको पतन, पूर्वी युरोपेली राष्ट्रहरूलाई रूसी प्रभुत्वबाट मुक्त गर्ने र दशकौँदेखि पूर्व–पश्चिम आणविक टकरावको अन्त्यको परिणामस्वरूप देशा १५ गणराज्यमा विभक्त भयो । सात वर्षभन्दा कम समय सत्तामा रहे पनि राष्ट्रपति गोर्बाचोभले परिवर्तनको रोमाञ्चक शृङ्खला प्रस्तुत गरेका थिए ।
सन् १९९१ को अगस्टमा उनका विरुद्धमा भएको विद्रोहको अन्ततः सोही वर्षको डिसेम्बर २५ मा उनको राजीनासँगै पटाक्षेप भयो । संयोग पनि कस्तो अगस्ट महिनामा नै उनको अवसान भएको छ ।
आणविक शक्ति सम्पन्न सोभियत संघमा आन्दोलन दबाउन बल प्रयोग गर्दा अराजकता बढ्ने डरले आफूले त्यसो नगरेको सत्ताच्युत भएको झण्डै २५ वर्षपछि एसोसिएटेड प्रेसलाई बताएका थिए । नोबेल शान्ति पुरस्कारप्राप्त नेता गोर्बाचोभ सामान्य किसानका छोरा थिए । सन् १९५२ मा कम्युनिस्ट पार्टी अफ सोभियत संघको सदस्यता लिएका उनी सन् १९८० मा उक्त पार्टीको सबैभन्दा कान्छो पूर्ण पोलिटव्यूरो सदस्य थिए ।
नेता गोर्बाचोभको निधनमा विश्व नेताहरूले दुःख व्यक्त गर्दै शोक प्रकट गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई बीसौँ शताब्दीका महान् नेताको संज्ञा दिँदै उनका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । विश्व इतिहासमा उनको ठूलो प्रभाव रहेको राष्ट्रपति पुटिनले उल्लेख गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपतिले बिहीबार उनको परिवार र साथीहरूलाई शोकको टेलिग्राम पठाउने छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्बाचोभलाई ‘उल्लेखनीय दृष्टि भएको व्यक्ति दुर्लभ नेता’ भनेका छन् । उनले आफ्नो सम्पूर्ण जीवनलाई जोखिममा पार्ने साहस भएका स्वतन्त्रता पक्षधर नेता भएको उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने दयालु राजनेताका रूपमा गोर्बाचोभलाई सम्झदै उनी इतिहासको सिलसिला परिवर्तन गर्ने नेता थिए भनेका छन् ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोग, जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमेयर, चान्सलर ओलाफ स्कोल्ज, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, जापानका प्रधानमन्त्री फुमियो किसिदा, अमेरिकाका पूर्वविदेशमन्त्री कोन्डोलिजा राइसलागयतले दिवङ्गत नेताको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । एपी







प्रतिक्रिया