राजनीति-समाज

प्रदेश नं १ को नामको सम्भावना अब छैन : सभामुख भण्डारी

प्रदेश नं १ को नामको सम्भावना अब छैन : सभामुख भण्डारी


सुनसरी । प्रदेश नंं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने सम्भावना नरहेको बताएका छन् । उनले प्रदेशको राजधानी तोक्दा वृहत्त राजनीतिक सहमतिका साथ भए पनि प्रदेशको नामाकरणका सवालमा दुई तिहाई पुर्‍याउन अहिलेको परिस्थितिमा सम्भव नभएको बताए । 
 
शनिबार नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सभामुख भण्डारीले प्रदेशको नामाकरणका लागि आफूले धेरै प्रयत्न गरे पनि दलहरू आ–आफ्नो अडानबाट पछि नहट्दा नामाकरणका लागि अर्को प्रदेशसभा नै कुनुपर्ने अवस्था आएको बताए । उनका अनुसार मंसिर ४ गते चुनावको मिति तय भइसकेकाले गर्दा यही हप्ता चालू अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको जानकारी दिए ।

  

Advertisement
 
सो क्रममा नेपाल पत्रकार महासंघका विपुल पोखरेलले राज्यको लगानी पत्रकारिता विकासका लागि नभएको बताए । उनले नागरिक समाजले पत्रकारिताको भूमिकालाई सम्मान गरेको भए पनि राज्यको तर्फबाट हुन नसकेको उनले गुनासो गरे ।  
 
नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोषराज रेग्मी स्मृति पत्रकारिता पुरस्कार २०७८ नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीलाई प्रदान गरेको छ । निष्ठुरीलाई प्रदान गरिएको पुरस्कारको राशी नगद २५ हजार रहेको छ । 

 
सोही क्रममा नेपाल पत्रकार महासंघ मोरङले हरेक वर्ष प्रदान गर्दै आएको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार २०७९ मोरङका पत्रकार दुर्गाप्रसाद खतिवडालाई प्रदान गरियो । यो पुरस्कारको राशी ११ हजार रहेको छ। 
 
दुवै पुरस्कार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललगायतले प्रदान गरे । पुरस्कार वितरण कार्यक्रममा नेपाल–अमेरिकी पत्रकार संघका अध्यक्ष विकास न्यौपानेसहित पत्रकारितासँग सम्बद्ध संस्थाका प्रतिनिधि, कोष स्थापनाकर्ता, सामाजिक संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।