न्यूयोर्क । यही अगष्ट २३ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, लेखक, एवं प्रतिनिधि सभाका माननीय सदस्य स्व. प्रदीप गिरिलाई न्यूयोर्क शहरको ज्याक्सन हाइटमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेर सम्झना गरेको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त शोक कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूलगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।
विचारक स्व. प्रदीप गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै प्रमुख अतिथिलगायत अन्य अतिथिहरूले शोक मन्तव्यको क्रममा नेपालका महान् दार्शनिक नेता प्रदीप गिरिको निधनले नेपालको सिङ्गो लोकतान्त्रिक आन्दोलन, सामाजिक आन्दोलन, संसदीय अभ्यास र नेपाल देशलाई ठूलो क्षति पुगेको बताएका छन् ।
पिछडिएका वर्ग, क्षेत्र र समुदायको लागि सधैँ आवाज उठाउने एउटा निष्ठावान् नेता प्रदीप गिरिले कांग्रेसमा “कदमजम” को अवधारणा निर्माण गरेर पार्टीलाई समावेशीको बाटोतर्फ विधानः लगेको र देशमा संघीयता र गणतन्त्रको आवाज पहिला गिरिले नै उठाएको कुरा राख्दै प्रमुख अतिथि एवं अतिथिहरूले शोक मन्तव्यको क्रममा गिरिको साहित्यिक, आध्यात्मिक र राजनैतिक जीवनको बारेमा विशेष चर्चा गरेका थिए ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन स्व. प्रदीप गिरिको पारिवारिक सदस्यसरहका बहिनी नेविसंघकस् नेतृ अनिता परियारले गरेकी थिइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं समाजका अग्रज व्यक्तित्वद्वय श्यामकाजी गुरुङ, डा विनोद साह, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्णप्रसाद लामिछाने, प्रवासी नेपाली एकता मञ्चका वरिष्ठ उपाध्यक्ष याम मोक्तान, प्रवासी नेपाली एकता समाज (पानस) न्यूयोर्कका अध्यक्ष रूद्र राउत, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य प्रभात सापकोटा, न्यूयोर्क च्याप्टरका सचिव वासु लामिछानेलगायतले शोक मन्तव्य राखेका थिए ।
यस्तै, आइसिसी सदस्य सन्जीव श्रेष्ठ, नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका महासचिव महेश मल्ल, नेजस न्यूजर्सी च्याप्टरका सचिव अनन्त न्यौपाने, तामाङ सोसाइटी अमोरिकाका अध्यक्ष छेमाङ लामा, कांग्रेस नेता तुलबहादुर तामाङ, कुइन्स काउन्ट्री एडभाइजरी बोर्डका सदस्य श्याम कार्की, तरूण विभाग अमेरिकाका पूर्वसचिव सुवास केसी, पत्रकार विष्णुसिंह बैजुलगायतले समाजवादी चिन्तक स्व. प्रदीप गिरिको निधनप्रति गहिरो शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका थिए ।
प्रतिक्रिया