सञ्जयजीको परिचय स्तम्भकार, पत्रकार । धेरै समय नेपालमा पत्रकारिता गरिसकेपछि समयले डोहोर्याउँदै अमेरिका आइपुगेका ।
उनको नयाँ परिचय थपेको छ,भरखरै प्रकाशित भएको एउटा कृतिले । ‘पात्रहरु‘ नामको यो कृतिको लेखक उनै सञ्जय हुन् । उनकै हातले मेरा हातमा यो किताब थमाएको तीन हप्ता बित्नै लागेको छ ।
सञ्जयले पुस्तकको भूमिकामा लेखेका छन्- ‘पढ्नुअघि कोठाको मन पर्ने कुना छान्नुहोस् ।’
मैले मेरो गेष्टरुमको बेड छनौट गरेँ । यो कोठाका झ्यालका पर्दा, ब्लाइण्डरहरु उसै पनि खुल्लै रहन्छन् । राति पनि लाग्दैनन् । पर्दा नलगाई सुतेको भन्दै मेरी श्रीमती भोलीपल्ट कचकच गर्छन् । मलाइ उनको यो कचकच बानी परिसकेको छ ।
कोठाको पर्दा खुल्लै हुँदा डिएफडब्लु अन्तर्राष्टिय विमानस्थलमा दक्षिणतर्फबाट विमानहरु अवतरण हुँदा बडो मज्जाको दृश्य देखिन्छन् । कुनै असाध्यै स्पिडमा हुँइकिदै अवतरण गर्छन् भने अधिकांश चाहि सुस्त र भारीसाथ । थरिथरि आकार, रंगरोगन, साइजका विमानहरुको ताँती लागेका छन् अवतरणका लागि । भीमकाय एअरबस ३८०, बोइङ ७४७ देखि लिएर साना डोर्निएर विमानहरु पालैपालो अवतरण गर्छन् ।
लेखककै सुझाव बमोजिम कपमा कफी छ । कालो कफी, सिसाको आधा माने गिलासमा । झुसी दुई चम्चा चिनी र त्यतिनै इन्स्यान्ट कफीको धुलो । बेलाबेलामा सुरुप्प सुरुप्प पार्छु । कोठाको ढोका बन्द छ । एसीले मिल्काउने हावाको आवाज भेन्टबाट आइरहेको छ । त्यसभन्दा अरु केही छिर्दैन कोठामा । तर मन स्थिर छैन ।
झ्यालबाट देखिन्छ ब्रिटिश एअरवेजको ए-३८० विमान बडो सुस्तरी अवतरण गर्दैछ । दुई तल्ले यो सुपरजम्बो विमानले झण्डै चारसय ७० यात्रु बोक्छ । सन् २००७ मा पहिलोपल्ट एअरबस ३८० विमानले सेवा सुरु गर्दा संसारभरि त्यसैको चर्चा थियो । सिंगापुर एअरलाइन्स एअरबस ३८० को पहिलो व्यबसायीक उडानकर्ता कम्पनी थियो । दुःखको कुरा ए-३८० सिरिजको पहिलो विमानलाई दुई वर्ष अघि सिंगापुरले सेवाबाट हटायो । सेवाबाट अवकाश दिएसँगै त्यो भीमकाय पहाड जस्तो विमान कवाडीमा परिणत गरिसके ।
म कुरा गर्दैथिएँ ‘पात्रहरु‘को । सञ्जयको पात्रहरु । अर्थात लेखक सञ्जय घिमिरेको पहिलो कृति पात्रहरुको बारेमा । लेख्न बसेको भावनामा धेरै नै वहकिएछु । पुस्तक पढ्दैगर्दा कैयौपटक वहकिन पुगियो । लेखकको देउराली गाउँ (शायद कास्कीको सुदूर पूर्बोत्तरको गाउँ) मा भौतिक रुपमा नपुगे पनि पात्रहरुले पटक पटक त्यहाँ पुर्याउँछ । देउराली गाउँबाट सुरु भएको पात्रहरु व्याख्या, चरित्र चित्रणले काठमाडौं हुँदै विश्वको अर्को कुना अमेरिका, त्यसमा पनि सूचना प्रविधिको मुटु सिलिकन भ्याली, सानफ्रान्सिस्कोसम्म लैजान्छ ।
मैले सुरुमै भन्नुपर्थ्यो । अहिले पनि केही बिग्रिएको त छैन । यो पुस्तक समिक्षा होइन । सञ्जयले किताबमा वर्णित पात्रहरुका बारेमा कुरा गर्न थालेको आधा दशक बितिसकेको छ । चिया गफमा होस् या वाइनको चुस्कीसँगै किन नहोस् । सञ्जयका जीवनमा ठोक्किएका यी पात्रहरुका प्रसंग, सन्दर्भ कहिँ न कहीँ आइपुग्थे । अनि सञ्जयले तिनलाई घटनाक्रमसँग जोड्न सुरु गर्थे ।
आधा दशक लगाएर तयार पारिएको । अझ घटनाक्रमलाई हेर्ने हो भने केही दशकको घटना, स्मरणलाई लिपिवद्ध गरेर तयार पारिएको पात्रहरुमाथि समिक्षा गर्ने मेरो ल्याकत पुग्दैन । मात्र मैले गर्न खोजेको चाहि पाठक अनुभूति भन्दा अरु केही होइन । यसकारण यसलाई पुस्तक समिक्षाका रुपमा भन्दा पाठक अनुभूतिका रुपमा बुझिदिँदा सजिलो हुनेछ ।
दुईसय ३८ पेजको पात्रहरु पढ्न सुरु गर्दा मेरा मनमा लेखकले बेलाबेलामा चर्चा गर्ने, साक्षात्कार गरेका व्यक्ति, चरित्रहरुका बारेमा केन्द्रित होला भन्ने मनस्थिती बोकेको थिएँ ।
अहिल्यै अमेरिकी राष्ट्रपतिसँग कुराकानी गर्नसक्छु भनेर गफ हाँक्ने स्यानाबा हु्न या शिक्षकको अभद्रताको प्रतिकार गर्ने मिना हुन् । ती पात्रहरुका बारेमा विहंगम चर्चा होला, उनीहरुका संघर्षका कुराहरु होलान् भन्ने आशाले पुस्तकका पानाहरु तानिदै जान्छन् । समाज केलाउने, चरित्र केलाउने, व्यक्तिको स्वभाव केलाउने क्रममा पात्रहरुका सन्दर्भलाई उपलव्ध तथ्य र तथ्यांकले केलाएर लेखकले अन्तिममा हाम्रो मानव सभ्यता, सोचको चीरफार गर्न पुगिएको छ । पात्रहरु एक हिसाबले स्वच्छन्द लेखनको एउटा उदाहरण बनेको छ । लेखकीय कुनै सिद्धान्त र वादमा लेखक अल्झिएका छैनन् । पढ्दै जाँदा कतै कथा जस्तो लाग्छन्, कतै निवन्ध, कतै प्रवन्ध जस्तो महसुस हुन्छ त कतै कविताको रुपमा प्रकट हुन्छ कृति । कतै आत्मकथा पो हो कि जस्तो भान पनि पर्छ । कतैकतै चाहि गाउँ चिनाउने, शहर देखाउने र सपनाको संसार चिनाउने एउटा ग्रन्थ पनि हो भन्ने छाप छाडेको छ पात्रहरुले ।
तपाई आडम्बरी र ढोँगी हुनुहुन्छ भने पुस्तक पढ्दै जाँदा यो चाहि सन्दर्भ नराखेको भए के बिग्रन्थ्यो भन्ने प्रश्न उठाउन पनि सक्नुहुन्छ । जस्तो कि गाउँका शिक्षकले कक्षा चढाइदिने वहानामा छात्राहरुको छातीमा आफ्नो हात चढाएको सन्दर्भ होस् या वर्षायाममा ओसिलो ठाउँमा पाइने जुकाले पुरुष जनन्द्रीयमा टोक्दा आकार बढेको प्रसंग होस् ।
पात्रहरुका पेज जति अघि बढ्दै जान्छन्, पाठकलाई कन्फ्यूजनको मात्रा पनि बढ्दै जान्छ । लेखकीय कन्फ्यूजन होइन, जीवन र जगतका बारेमा संसारका कन्फ्यूजन, मानिसका मनका असन्तुष्टी, छट्पटाहट, अनेकन आशा अपेक्षाका पहाड, तिनलाई प्राप्त गर्नका लागि मानिसका प्रयासका बारेमा पात्रहरुका जीवनमार्फत लेखकले खोतल्ने प्रयास गरेका छन् । घरमा हजुरआमाका आशा र अपेक्षा बुढेशकालमा नाति नातिनाले पाल्लान् भन्ने छ । तर नाती नातिनाका आशा र अपेक्षा भने अर्कै । कुन मौका आउला र घर, परिवार, समाज मात्र नभएर देशै छाडेर हिड्ने आसमा नातीहरु हुन्छन् ।
मानिसका भ्रमका बारेमा पनि केही पात्रहरु मार्फत लेखकले उधिनेका छन् । धेरैलाई घमण्ड हुन्छ संसारमा जति धेरै कुरा जानियो त्यति ठूलो होइन्छ । तर जान्नेले पनि एक दिन संसार छाड्नैपर्छ । अनि चन्द्रमामा मानिसले पाइला टेकेको, मंगलग्रहमा बस्ती बसाल्न नासाले वर्षौदेखि गरिरहेको प्रयास बारे बेखबर गाउँका आमा, हजुरआमा हजुरबा पनि त बाँचिरहेकै हुनुहुन्छ । अझै उस्तै परे अधिकांशले ९० भन्दा माथिको उमेरसम्म निरोगीसाथ बाँचेका छन् । मानिसका मनमा आउने घमण्ड, अहम्लाई पात्रहरुले बिभिन्न पात्रहरु मार्फत बाहिर ल्याएको छ । पृष्ठ ६० मा लेखकले करोडको प्रश्न छाडेका छन् । उनी सोध्छन्-‘ज्ञान ठूलो कि जीवनको दैनिकी ? ‘
ज्ञानले दिने आनन्द र अज्ञानताले दिने आनन्दको भेद छुट्याउने सामथ्र्य कमजोर भएको छ । अर्को ठाउँमा लेखकले सन्दर्भ लिएका छन्, भारतीय चर्चित अभिनेत्री रेखा, जसले जीवनमा पाठ्यक्रमका पुस्तक भन्दा बाहेक अन्य न किताब पढिन्, न पत्रिकाहरु । तर पनि उनी सुपरहिट र सम्मानित छिन् ।
कहिलेकाँही लेखक प्रविधिसँग हुन पुगेको संबन्धले मानिसलाई बनाएको परनिर्भरतालाई लिएर कटाक्ष गर्न पनि भ्याउँछन् । ट्वाइलेट जाँदा समेत मोबाइल फोन छाड्न नसक्ने लतले कहाँ डोहोर्याउने हो भनेर चिन्ता पनि दर्शाउँछन् । अनि ८ कक्षामा फेल भएर गाउँकै चिया पसलमा गफ चुटेर बस्नेले उस्तै परे अमेरिकी विदेश नीतिका विषयमा टिप्पणी गर्न समेत पछि नपर्ने सन्दर्भलाई उठाएर मानिसको चरित्रको बुझिनसक्नु रहेको भन्न पनि भ्याउँछन् । अनि आफ्नो मौलिकपन छाडेर अर्काले भिराइदिएको संस्कार र संस्कृतिलाई पछ्याउँदै अनिश्चित यात्रामा भौतारिरहेको नेपाली समाजलाई पनि लेखकले उत्तिकै व्यंग्य कसेका छन् । लेखक भन्छन्-‘स्वास्नी मात्र होइन संस्कृति र सभ्यता पनि अर्काको राम्रो लाग्ने रहेछ कि क्या हो ? के भएको हो हामीलाई ? ‘
अमेरिकाको सन्दर्भभित्र पस्दै लेखक भन्छन्, ‘बाहिरतिरका मान्छेहरु अक्सर ठान्छन् यो त सपनाको देश पो त । स्वर्ग जाने पुल बनाउँछ भन्छन् यो देशले । सुनमा सुगन्ध हाल्छ भन्छन यो देशले । बाँकी दुनियाका लागि अमेरिका सधैं सपना बनिरह्यो ।‘
तर उनको निष्कर्श छ बाँकी दुनिया जस्तै हो अमेरिका पनि । किनकी यहाँ पनि मानिसहरु छन् ।
कति गहिरो भाव बोकेको छ यो वाक्यले ।
अमेरिकाका पात्रहरुको चर्चा गर्ने क्रममा लेखकले विशेषगरि सानफ्रान्सिस्को क्षेत्र (बे–एरिया) मा भेटेका, संगत गरेका पात्रहरु यस्ता देखिन्छन्, जो वेपर्वाह छन् । जसलाई न आफ्नो हिजोका बारेमा अहिले ख्याल छ, नत भोलीको चिन्ता नै । सिक्थ स्ट्रिटमा भेटिएको विलियम होस् या फ्रेड होस् । अनि अधवैंसे ड्यानियल होस् या राष्ट्रपति जो बाइडेनका भतिज साइलेस बोर्डन । नसामा चुलुम्म डुबेका यिनीहरुलाई आफ्नो बाँकी जिन्दगीका बारेमा बाल मतलव छैन । मान्छे जन्मेपछि मर्छ । तर यसो भन्दैमा मानवीय संवेदना पुरै गुमाउन पनि त मानिसले सक्दैन । तर मृत्यु प्रति नै बेपरवाह व्यक्तिहरुका संगतमा केही समय बिताएका घटनाहरुलाई लेखकले निके उत्कृष्ठसाथ उतारेका छन् ।
२० डलरमा पिसाब किन्न आएकी एलिसदेखि लिएर ड्रग्सको कारोवार गर्ने लुलुसम्म यही समाजका पात्रहरु हुन् । यिनका जीवनको बुझाई र भोगाई पात्रहरुले पनि समेट्न नसकिने अर्को महाकाव्य तयार पार्नुपर्ने खालको महसुस हुन्छ ।
पुस्तकमा जसरी पात्रहरु छरपष्ट छन् । पात्रहरु जसरी अनायाश आउँछन् र जान्छन् । लेखकका मनका ज्वारभाटाहरु पनि त्यसैगरि फुटेका छन् । बढ्ता महत्वाकांक्षा अर्थात ओभरडोजले मानिसहरुको जीवननै तहस नहस भएको सन्दर्भ पनि उल्लेखनीय पक्ष हो । लेखकले एकठाउँमा लेखेका छन्-‘ड्रग्सको ओभरडोजले भन्दा पनि सपनाको ओभरडोज, संगतको ओभरडोज, समयको ओभरडोज झनै चर्को हुँदारहेछन् ।‘ र बे–एरिया स्टिभ जब्सको शहर भएर पनि सबैको जीवन स्टिभको जस्तो नहुने गरेको तथ्यलाई पनि उनले कोट्याएका छन् ।
पुस्तक पढ्दै अघि बढ्दा कतै आध्यात्मिक किताब त पढिरहेको छैन भन्ने भान पनि पर्छ । कतै नैतिक शिक्षा त होइन भन्ने पनि लाग्छ । तर समष्टिमा पात्रहरु मार्फत लेखकले आफूले भोगेको, अरुको भोगाईलाई नजिकबाट हेरेर यो पुस्तक तयार पारेका हुन् भन्ने कुरामा विवाद छैन । जोगीदेखि भोगीसम्म, सन्तदेखि महन्तसम्म, सम्पन्नदेखि सडकछापसम्मको संगतबाट यो पुस्तक तयार पारिएको हुनुपर्छ । त्यसो हुँदा पुस्तकमा उनीहरुको भोगाई झल्किन्छ । उनीहरुको भोगाईबाट लेखकले जीवन र जगतका बारेमा व्याख्या अनि विश्लेषण गर्न सकेका छन् । धेरैको संगतपछि लेखक यो तथ्यमा ढुक्क छन् र उनी भन्छन्, ढुक्क भए हुन्छ, संसारमा कोही एउटा पनि मान्छे गन्तव्य थाहा पाएर हिँडेकै छैन ।
पुस्तक पढिसक्दा मानिसबारे, जीवनबारे, जगतबारे बुझ्न थोरै भएपनि सजिलो बनाएको छ । पढिसकेपछि यो मेरो अनुभव र अनुभूति हो । फेरि पनि भन्छु यो समिक्षा होइन, पुस्तक पढिसकेपछिको पाठक प्रतिकृया मात्र हो ।
प्रतिक्रिया