मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

हिन्दुधर्ममाथिको प्रहार असह्य : विक्रम पाण्डे

हिन्दुधर्ममाथिको प्रहार असह्य : विक्रम पाण्डे


चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले हिन्दुधर्ममाथि प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै नेपाली जनतामा यो असह्य भएको बताएका छन् ।

‘विदेशीको पैसा खाएर नेपाली धर्मसंस्कृतिमाथि प्रहार हुँदै आएको छ’, उनले भने, ‘आफ्नो आमाबाबुको किरिया नगरेर पुरुषार्थ देखाउने र देवघाट पुगेर ताली पड्काएर फर्किनेहरुले धर्मसंस्कृति मास्न उद्यत भए ।’ दलका नेताहरुप्रति लक्षित गर्दै उनले नेपाली जनताले अब यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई चिन्ने समय आएको बताए ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रत्ननगरद्वारा हरितालिका तीजको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले गणतन्त्र र संघीयताविरुद्ध राप्रपाले जनताको घरदैलोमा पुगेर आफ्नो विचार र एजेन्डा राख्नुपर्ने बताए । उनले थपे, ‘संघीयताको नाममा प्रदेशका सयौँ व्यक्तिलाई जनताको रगत पसिनाले पाल्नु परेको छ । यो देशकै निम्ति विडम्बना हो ।’

हिन्दुधर्मले महिलालाई देवी र शक्तिको रुपमा मानेकोले महिलालाई अन्याय नगरेको उनको भनाइ थियो । नेपालमा प्रकृति, प्राणीदेखि सबैलाई पूज्ने र पर्वहरुमा सद्भाव राख्ने हिन्दुधर्मले समानता, न्याय र सबैको कल्याण गर्ने भएकाले आयातीत पश्चिमा संस्कृतिको प्रभावमा कोही पनि पर्न नहुने उनले बताए ।

कार्यक्रममा बागमती प्रदेश सभाकी सांसद् रिना गुरुङले देशलाई बचाउन अब विकल्प खोज्ने बेला आएको बताइन् । उनले प्रत्येक नेपालीको घरघरमा गएर राप्रपाले उठाएका एजेन्डाहरु बुझाउन र देशलाई बचाउन अन्तिम अवसर मंसिर ४ गतेको निर्वाचन भएको बताइन् ।

उनले आर्थिक स्रोतका कारण महिला पछाडि परेको बताउँदै आयआर्जनमा लाग्न सुझाव दिइन् । महिला सशक्तिकरणका लागि आयआर्जनको बाटो पनि अवलम्बन गर्नसके महिला आफैँ आत्मनिर्भर हुने उनले बताइन् ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामशरण पाठक, केन्द्रीय सदस्य रामहरि कँडेल, चितवन क्षेत्र नं १ का अध्यक्ष बलराम खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा तीन दर्जन बढी महिला पार्टी प्रवेश गरेका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रत्ननगरका अध्यक्ष सरिता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका नेता, कार्यकर्ता गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो । सो अवसरमा महिलाहरुले तीज गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।