टोकियो । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गत महिना भएको हत्याको जिम्मेवारी लिन जापानको प्रहरी निकायका प्रमुखले बिहीबार राजीनामा दिने बताएका छन् ।
जापानको प्रहरी (एनपिए) का आयुक्त जनरल इटारु नाकामुराले चुनावी अभियानका क्रममा सडकमा भाषण दिने क्रममा आबेको गोली लागेर मृत्यु भएको समयमा सुरक्षाको समीक्षा सार्वजनिक गरेपछि यस्तो घोषणा गरेका हुन् ।
नाकामुराले पत्रकार सम्मेलनमा भने, “एनपीएले यस्तो घटना दोहोरिन नदिन नयाँ प्रणालीअन्तर्गत नयाँ सुरक्षा आवश्यकतामा आधारित उपायहरू निरन्तर कार्यान्वयन गर्न आवश्यक छ भन्ने विश्वास गरेको छ । आज मैले राष्ट्रिय जनसुरक्षा आयोगलाई आफ्नो राजीनामा दिने मनसाय बारे अवगत गराएको छु ।”
उनले भने, “मेरो राजीनामा शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वीकृत हुने सम्भावना छ ।”
आबेको हत्यापछि गरिएको समीक्षाको नतिजाले पूर्व नेतालाई सुरक्षा दिन प्रहरी असफल भएको देखाएको छ । यसले सुरक्षा योजनामा गम्भीर त्रुटिहरू, घटनास्थलमा अपर्याप्त तैनादी र सञ्चार, र बन्दुकधारीलाई आबेको नजिक पुगेको जानकारी प्राप्त गर्न असफल भएको विस्तृत विवरण दिएको छ ।
आबेले जुलाई ८ मा जापानको माथिल्लो सदनको चुनावअघि पश्चिमी शहर नारामा सम्बोधन गरेको र सम्बोधनकै क्रममा उनीमाथि एक बन्दुकधारीले गोली हानी घाइते बताएका थिए । उनको उपचारका क्रममा पछि मृत्यु भएको थियो ।
गोली चलेको समयमा टोकियो मेट्रोपोलिटन पुलिस फोर्सका एक प्रहरी र केही स्थानीय प्रहरी अधिकारीहरू आबेको नजिक थिए ।
यहाँ धेरै सुरक्षा विशेषज्ञहरूले यदि उनको सुरक्षा विवरणले आक्रमणकारीलाई दबाउन एकसाथ काम गरेको भए आक्रमण रोक्न सकिन्थ्यो वा कम्तीमा आबेलाई गम्भीर घाइते हुनबाट रोक्न सकिन्थ्यो भन्ने धारणा राखेका छन् ।
एनपिएका अनुसार, गोली काण्डको समयमा सुरक्षा उपायमा सबैभन्दा ठूलो त्रुटिमध्ये एक नाराको एक पुलिस अधिकारी आबेको भाषणको क्रममा आफ्नो स्थिति परिवर्तन गर्नु थियो । उनी आबेको पिठ्यूँ ढाक्ने क्रममा गार्डरेलको सानो क्षेत्र बाहिरबाट रेलभित्र गए, जहाँ प्रहरीले भीडतिर आफ्नो पिठ्यूँ फर्काए ।
स्थानीय प्रहरी अधिकारीले आफ्नो टोलीका नेता वा अन्य अधिकारीलाई आफ्नो गतिविधिबारे जानकारी नदिएको एनपिएले जनाएको छ । बिहीबार नारा प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले पनि राजीनामा दिने घोषणा गरेका छन् । एजेन्सी
प्रतिक्रिया