बिश्व घटना

सामाजिक सञ्जालमा भाइरल फिनल्यान्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

सामाजिक सञ्जालमा भाइरल फिनल्यान्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि


हेलसिन्की । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ । 
 
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो । 
 
प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहेनरहेको निर्क्यौल गर्न परीक्षण गरिएको थियो । 
 
आफूले केही मदिरा सेवन गरेको तर कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनले शुक्रबार आफ्नो निवासमा पत्रकारहरूलाई बताएकी थिइन्। आफूले जीवनमा कहिल्यै पनि लागूऔषध सेवन नगरेको पनि स्पष्ट गरेकी थिइन् ।  
 
चौंतीस वर्षको उमेरमा प्रधानमन्त्री बनेकी मारिनको विपक्षीहरूले सरकारी निवासमा भोजभतेर र आमोद प्रमोदलगायत गतिविधि गरेकामा यसअघि पनि आलोचना गरेका थिए । एएनआई