मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : गृहमन्त्री

चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
 
गृह मन्त्रालयमा सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीनबुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए ।
 
उनले नेपाल सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्दै आएको उल्लेख गर्दै नेकपासँगको सहमति कार्यान्वयन गर्न सरकार मातहतका निकायले काम गरिरहेको अवगत गराए । गिरफ्तार नेता कार्यकर्ता तथा विभिन्न मुद्दा लगाइएकाको सम्बन्धमा संविधान र कानुनअनुसार रिहा गर्ने फिर्ता लिने प्रक्रिया अघि बढेको मन्त्री खाणले बताए ।
 
वर्तमान सरकार बनेदेखि नै चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनका लागि शीर्ष तहमा वार्ता र छलफल भइरहेको बताउँदै गृहमन्त्री खाणले सहमति कार्यान्वयनका लागि गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय एवं मातहतका कार्यालय निरन्तर प्रयत्नशील रहेको बताए । 
 
कार्यक्रममा कानुनमन्त्री कोइरालाले सरकारले नेकपासँगको सम्झौता कार्यान्वयन गर्न प्रतिबन्ध हटाउनाका साथै नेता कार्यकर्ता रिहाइका लागि प्रक्रिया अघि बढाएको बताए । उनले सरकारले यसअघि गरेको तीनबुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । 
 
मन्त्री कोइरालाले नेकपाका नेताहरूविरुद्ध देशभर विभिन्न ६० जिल्लामा ६ सय १० मुद्दा दर्ता भएकामा पाँच सय २३ मुद्दा फछ्र्यौट भएको र ८७ फछ्र्यौटका क्रममा रहेको बताए ।
 
महान्यायाधिवक्ता खातीले सरकार र नेकपाबीचको सहमति कार्यान्वयन भइरहेको बताउँदै संविधान र कानुनबमोजिम मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिए । नेताहरू विरुद्धका मुद्दाका सन्दर्भमा पुनरावेदन नलाग्ने गरी निर्णय भएकोसमेत उनले जानकारी गराए । रासस