मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इरानले आणविक वार्ताको ‘अन्तिम’ प्रस्ताव प्रस्तुत गर्ने

इरानले आणविक वार्ताको ‘अन्तिम’ प्रस्ताव प्रस्तुत गर्ने


तेहरान । इरानका विदेशमन्त्रीले सन् २०१५ मा विश्वशक्ति राष्ट्रसँग भएको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा तेहरानले आफ्नो ‘अन्तिम’ प्रस्ताव सोमबार प्रस्तुत गर्ने बताएका छन् । 

“अमेरिकी पक्षले इरानबाट आएका दुई मागलाई मौखिक रूपमा स्वीकारेको छ,” सरकारी समाचार संस्था आइआरएनएले होसेन अमिर अब्दोल्लाहियानलाई उद्धृत गरी उल्लेख गरेको छ । उनले भने, “हामी हाम्रो अन्तिम प्रस्ताव सोमबार रातिसम्म लिखित रूपमा पठाउनेछौँ ।”
 
“यदि हाम्रो राय स्वीकार गरियो भने हामी विदेशमन्त्रीहरूको बैठकमा सम्झौता टुङ्ग्याउन र सम्झौता घोषणा गर्न तयार छौं,” उनले भने । 
 
इरानले सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई जोगाउन भियनामा भएको अन्तिम सम्झौतालाई स्वीकार गर्न सक्ने आइआरएनएको समाचारमा शुक्रबार जनाइएको थियो ।
 
सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका सम्झौताबाट अलग्गिएपछि यो सम्झौता असफल भएको थियो । 
 
युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले जुलाई २६ मा पेश गरेको प्रस्तावमा तेहरानको प्रतिक्रियाको पर्खाइमा प्रमुख शक्तिराष्ट्रहरु रहेका छन् ।
 
इरानी एकजना कूटनीतिज्ञले नाम उल्लेख नगर्ने शर्तमा भने, “यदि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग विचाराधीन मुद्दाहरूमा उनीहरूले इरानलाई प्रतिबन्ध र सुरक्षासँग सम्बन्धित विभिन्न बुँदाहरूमा आश्वासन प्रदान गर्दछन् भने इरानलाई युरोपेली संघका प्रस्तावहरू स्वीकार्य हुनसक्छन् ।” 
 
बेलायत, चीन, फ्रान्स, जर्मनी, इरान र रूसका साथै अप्रत्यक्ष रुपमा संयुक्त राज्य अमेरिकाले एक महिना लामो अन्तरालपछि अगस्टमा आणविक सम्झौताका लागि वार्ता पुनः सुरु गरेका थिए ।
 
सम्झौतालाई पुनःजीवित गर्न युरोपेली संघ (ईयू) समन्वयित वार्ता अप्रिल २०२१ मा सुरु भएको थियो र मार्चमा रोकिएको थियो ।
 
युरोपेली संघ (ईयू) ले गत मंगलबार तेहरान र वासिङ्टनले सम्झौतालाई असफल बनाउने उद्देश्यले गरिएको ‘अन्तिम’ पाठको ‘चाँडै’ जवाफ दिने अपेक्षा गरेको बताएको थियो ।
 
अमिर अब्दुलाहियानले भने, “लामो वार्तापछि हाम्रो लागि महत्त्वपूर्ण कुरा भनेको व्यवहारमा प्रतिबन्ध हटाइएको छ कि छैन भन्ने कुराको प्रमाणीकरण हो ।” एएफपी