मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रूस्दीको आक्रमणकारीसँग इरानको सम्बन्ध नरहेको दाबी

रूस्दीको आक्रमणकारीसँग इरानको सम्बन्ध नरहेको दाबी


तेहरान । इरानले विश्व प्रसिद्ध लेखक सलमान रूस्दीमाथि अमेरिकामा छुरा प्रहार गर्ने आक्रमणकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ । 
 
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले पत्रकार सम्मेलनमा भारतीय मूलका उपन्यासकार रूश्दीको छुरा प्रहार र इस्लामिक गणतन्त्र इरानबीच कुनै सम्बन्ध नरहेको बताएका हुन् ।  
 
आफ्नो पुस्तक ‘द स्याटेनिक भर्सेज’का कारण ज्यान मार्ने धम्की खेपिरहेका रूस्दीलाई गत साता पश्चिमी न्यूयोर्क राज्यमा एक कार्यक्रमस्थलमा छुरा प्रहार गरिएको थियो ।
 
अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका कैयौँ नेताले घटनाको निन्दा गरेका छन् । 
 
सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चा कमाएका भारतीय मूलका बेलायती उपन्यास तथा निबन्धकार रूस्दीलाई आक्रमणपछि तत्काल हेलिकोप्टरमार्फत अस्पताल लगी उपचार गरिएको थियो ।
 
सन् १९८८ मा प्रकाशित उनको पुस्तक ’द स्याटानिक भर्सेज’ले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको भन्दै तत्कालीन इरानी नेता अयातुल्ला रुहोल्ला खोमेनीले उनीविरूद्ध फतवा जारी गरेपछि निजी सुरक्षाका कारण उनले लामो समयसम्म भूमिगत जीवन बिताएका थिए । 
 
शनिबार न्युयोर्क राज्यमा एक साहित्यक कार्यक्रमका क्रममा छुरा प्रहार भएपछि घाइते रूस्दीलाई तत्काल भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । अहिले उनलाई भेन्टिलेटरको सहायताबिना नै उपचार भइरहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । सिन्ह्वा