मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोलोराडोमा सामूहिक दरखाने कार्यक्रम

कोलोराडोमा सामूहिक दरखाने कार्यक्रम


कोलोराडो, अमेरिका । हिन्दु महिलाहरुको महान् चाड तीज नजिकिँदै गर्दा कोलोराडो निवासी महिला दिदीबहिनीहरु एकैठाउँमा भेला भई नाचगान गर्दै सामूहिकरुपमा दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । 
 
प्रवासमा रहेका महिला दिदीबहिनीहरुलाई एक्लो भएको महसुस नहोस् र वर्षमा एकदिन भए सबै दिदीबहिनी एकै ठाउँमा जम्मा भई सुखदुःख साटासाट गर्दै,  माइतीको झल्को मेटाउन तीज कार्यक्रम आयोजना गरिएको हो ।
 
कोलोराडोमा सक्रिय संस्था सिस्टर ग्रुप (दिदी बहिनी) समूह कोलोराडोको आयोजनामा दिदीबहिनीहरुले घरघरबाट मीठा परिकारहरु बनाएर ल्याई एकैठाउँमा जम्मा भई परम्परागत शैलीमा गीत गाएर नाच्दै सामूहिक दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् । 
 
कोलोराडोस्थित बेष्ट मिनिष्टर सिटीमा सम्पन्न कार्यक्रममा बोल्डर, लङमन्ट, ब्रुमफिल, डेनवर्ग, अरोरा, वेस्ट मिनिष्टरलगायतका सहरहरुबाट महिला दिदीबहिनीहरु नेपाली पहिरन रातो साडी, चोलो, चुरा, धागो र विभिन्न परम्परागत गहनामा सजिएर उपस्थित भएका थिए । कार्यक्रममा स्थानीय केही महिला दिदीबहिनीहरु पनि नेपाली चेलो साडीमा सजिएर कार्यक्रममा उपस्थित भएका थिए ।
 
परम्परागत भाका र शैलीमा गीत गाउँदै मादलको तालमा छमछम नाचिरहँदा आफूलाई नेपाली भूमिमा बसेर तीजको रमाइलो हेरिरहेको महसुस हुन्थ्यो । परम्परागत रुपमा दरखाने परिकारहरु खिर, सेलरोटी, दही, कांक्रोको अचारजस्ता स्वादिष्ट परिकारहरु खाँदै साथीहरुसँग नाच्दै, गाउँदै, तीजको शुभकामना साटासाट गर्दै हर्षोउल्लासका साथ दरखाने कार्यक्रम सम्पन्न गरेका हुन् ।
 
साँझ ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि बुद्धिजिवी, गन्यमान्य, समाजसेवी, व्यवसायी, सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न नमस्ते प्लमिङ, चाम गुरुङ, कन्चन प्रसाईंलगायतका दाताहरुले आर्थिक सहयोग गरेका थिए ।
 
कार्यक्रमलाई थप आकर्षण तुल्याउन राफल चिठ्ठाको व्यवस्था पनि गरिएको थियो । केही समयअगाडि प्रकाश सपुतको कार्यक्रममा खोलिने घोषणा गरिएको राफल चिठ्ठा समय अभावको कारण उक्त कार्यक्रममा नखोली आजको कार्यक्रममा खोली विजेताहरुलाई वितरण गरिएको थियो ।  
 
विगत केही वर्ष अगाडिदेखि नियमितरुपमा तीजको कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाका संयोजक धन पौडेलले यस्ता कार्यक्रमले प्रवासमा जन्मेहुर्केका बालबालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतिको पहिचान तथा संरक्षणमा टेवा पु¥याउने बताइन् । 
 
उनले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने दिदीबहिनीलगायत उपस्थित भई कार्यक्रमको शोभा बढाइदिने सबैलाई धन्यवाद दिइन्  ।