मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विदेशीको पैसामा चुनाव जित्नेले देशलाई बर्बाद पारे : विक्रम पाण्डे

विदेशीको पैसामा चुनाव जित्नेले देशलाई बर्बाद पारे : विक्रम पाण्डे


चितवन । राप्रपाका केन्द्र्रीय उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको पैसाको आडमा चुनाव जितेर देशलाई बर्बाद गर्न खोज्ने नेताहरुलाई हराउनुपर्नेमा जोड दिएका छन् । राप्रपा भरतपुर महानगर समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्री पाण्डेले युरोपियन युनियन र छिमेकी राष्ट्रबाट पैसा ल्याएर चुनाव जित्ने दाउमा लागेका नेताहरुलाई जनताले रोक्नुपर्ने बताए । 
उनले देशलाई प्लटिङ गरेर देशलाई विदेशमा बुझाउने षड्यन्त्र भएको बताए । ‘उत्तर उत्तरतिरै मिल्ने, दक्षिण दक्षिणतिरै मिलेर अन्ततः नेपाल युक्रेनजस्तो हुने जोखिम छ’, उनले भने, ‘विदेशीको इशारामा चल्ने नेताले जिते देश झनै बर्बाद हुनेछ ।’ देशलाई बाँडीचुँडी उपयोग गर्न गठबन्धन गरेर सिट बाँडफाटमा लागेको अरोप लगाए । उनले अमेरिकन बुट आइसकेकाले वैदेशिक हस्तक्षेप बढेको बताए । उनले देशलाई जोगाउन अब जनता जागरुक बन्नुपर्नेमा जोड दिए ।
विषालु हात लिएर देशलाई सिध्याउन लागेका नेताहरुलाई जनताले अब फेरि जिताउन नहुने उनको भनाइ थियो । 
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमले संघीयताले बेथिति र राज्यको खर्च बढाएकाले अब खारेज हुनुपर्ने बताए । २०४६ सालयता देशले विकासमा फड्को मार्न नसकेकोमा उनले दुखेसो पोखे । 
इस्कोन नेपाल चितवनका सचिव गौरगोविन्द प्रभुले हिन्दुराष्ट्र निर्माणमा लाग्ने स्पष्ट विधान भएका दलहरुलाई जनताले रोज्ने बेला आएको बताए । उनले विद्यालयतहबाट संस्कृति शिक्षा खारेजीसँगै हिन्दुधर्ममाथि प्रहार सुरू भएको बताए ।
गंगाआरती समितिका संयोजक प्रेमनिधि भारद्वाजले सनातन धर्म संरक्षणका लागि सत्याग्रह गर्नुपर्ने स्थिति आएको बताए । 
पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान चितवनका अध्यक्ष मोहनविक्रम शाहले सदनबाटै हिन्दुराष्ट्रबारे आवाज बुलन्द पार्नुपर्नेमा जोड दिए । 
कांग्रेस नेता तारा पौडेलले हिन्दुराष्ट्रको पक्षमा जनमत बढेकाले त्यसको शक्तिलाई प्रयोग गरेर देशको पहिचान स्थापित गर्नुपर्ने बताए । 
कार्यक्रममा राप्रपा चितवनका उपाध्यक्ष चेतनाथ वाग्ले, जीवलाल पुरीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम राप्रपा महानगर समिति अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।