चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको चाहनाअनुसार नै आफू चितवनको कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने निर्णय गर्ने बताएका छन् ।
चितवनको खैरहनीमा सोही पार्टीको नगर समितिले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले जनताले आफू कहाँबाट चुनाव लड्नुपर्छ भन्ने प्रष्ट रहेको बताएका हुन् ।
‘जनतालाई थाहा छ, मलाई कहाँबाट चुनाव लड्न मन छ भन्ने कुरा’, केन्द्रीय सभापति लामिछानेले भने, ‘दलहरुको तालमेलका आधारमा निर्णय गर्नेछौँ ।’
कार्यक्रममा सहभागीहरुले चितवनबाटै चुनाव लड्नुपर्छ भनेर हुटिङ गरेपछि लामिछानेले तपाईंहरुकै बीचबाट उठ्न पाउँछु कि भन्ने जवाफ दिएका थिए । ‘चुनावमा के के मात्र गरिँदैन तपार्इंहरुलाई थाहा नै छ’, लामिछानेले थपे, ‘चुनाव जसरी पनि जित्नुपर्छ, आफू र आफन्तलाई जिताउनु पर्ने परिपाटीबाहेक अरु कसैसँग डर छैन ।’ चुनावमा एक्लै एक्लै लड्न दलहरुलाई उनले चुनौती दिए ।
‘चुनाव जित्न गठबन्धन गर्ने, मतपत्र च्यात्ने परिपाटी छ’, लामिछानेले भने, ‘हामी भर्खरको पार्टी एक्लै भिड्दै छौँ, दलहरु पनि आफ्नै बलमा अघि बढ्नुपर्छ ।’ टेलिभिजन पत्रकारिताका बेला होस् वा हिरासतमा रहेका बेला जस्तै निर्वाचनमा पनि साथ र विश्वास गर्न उनले आग्रह गरे ।
‘तपाईंहरुले लगाएको गुन एक एक गरी तिर्नेछु’, लामिछानेले भने, ‘मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस्, तपार्इंको विश्वास सापटी दिनुस्, व्याजसहित चुक्ता गर्नेछु ।’
जुन सरकार आए पनि कानमा तेल हालेर बस्ने गरेको भन्दै उनले बन्द रहेको कानलाई घन्टी बजाएर खोल्ने बताए । स्रोत साधन नहुँदा टेलिभिजनमार्फत कयौँको उद्धार र दुःखसुखमा साथ दिएको स्मरण गर्दै पूर्व सञ्चारकर्मीसमेत रहेका लामिछानेले भने, ‘सिंहदरवारसम्म पार्टी पुग्यो भने कल्पना गर्नुस्, दुःखसुखको पार्टी स्वतन्त्र पार्टी हुनेछ ।’
प्रतिक्रिया