मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पत्रकार महासंघ र नेजाबीच समझदारी पत्रमा हस्ताक्षर

पत्रकार महासंघ र नेजाबीच समझदारी पत्रमा हस्ताक्षर


क्यालिफोर्निया । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
 
९ बुँदे समझदारीपत्रमा नेजा र महासंघले औचित्यका आधारमा एकअर्कामा सहकार्य गर्दै नेपाल, अमेरिका र क्यानडामा विभिन्न कार्यक्रम गर्ने, नेजाले नेपालमा गर्ने गतिविधि महासंघको सहकार्यमा गर्ने, महासंघले अमेरिका र क्यानडामा गर्ने कार्यक्रम नेजाको सहकार्यमा गर्ने लगायत विषय उल्लेख छन् ।
समझदारीसँगै अमेरिका र क्यानडामा आवश्यक पर्दा नेजा नेपाल पत्रकार महासंघको औपचारिक प्रतिनिधिमूलक संस्थाको रुपमा रहने भएको छ । 
 
समझदारीपत्रमा नेजाको तर्फबाट संघका महासचिव सुरज भण्डारी र पत्रकार महासंघका तर्फबाट महासचिव रोशन पुरीले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेजाका अध्यक्ष विकासराज न्यौपाने उपस्थित थिए भने महासंघका अध्यक्ष विपुल पोखरेल भर्चुअल रूपमा जोडिएका थिए । नेजाको स्थापना भएदेखि नै नेजा र महासंघका बीच सहकार्य हुँदै आएको छ ।
 
दुई संस्थाबीचको सम्बन्ध र सहकार्यलाई अझै कसिलो बनाउने उद्देश्यसहित २४ जुलाईमा समझदारी भएको हो । हस्ताक्षरपछि बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले यसबाट दुई संस्थाको सम्बन्धलाई अझ बलियो बनाउने र नेपाली पत्रकारिता क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
 
नेजाका अध्यक्ष विकासराज न्यौपानेले समझदारीले औपचारिकता पाएपछि नेपाल, अमेरिका र क्यानडामा रहेका पत्रकारहरुबीचको सम्बन्ध अझ आत्मिय तथा भाइचारापूर्ण हुने बताउँदै एकअर्काप्रतिको सहयोग र सहकार्य अपरिहार्य रहने बताए । हस्ताक्षर कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेजा र महासंघबीचको संस्थागत सम्बन्ध औपचारिक रुपमा थप मजबुत हुने र हार्दिकता र अपनत्व बढ्ने बताए ।

शेयर गर्नुहोस:

162
Shares