मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन मिलापको तयारी तीव्र

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन मिलापको तयारी तीव्र


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तीव्र पारिएको छ । अगस्ट २६ देखि २८ सम्म थाईल्याडको बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।
 
एनआरएनए एसिया क्षेत्रीय प्यासिफिकको तर्फबाट शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने बताइएको छ। जुमबाट गरिएको उक्त  पत्रकार सम्मेलनमा एनआरएनए एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेल र डिपी कँडेलले सम्मेलनको आवश्यकता र तयारीको बारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन भने क्षेत्रीय सचिव प्रदीप न्यौपानेले गरेका थिए । 
 
संयोजक पारसमणि पोखरेलले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै १८ वर्षको इतिहासमा एनआरएनएको यस्तो कार्यक्रम कहिले नभएको बताए। सम्मेलनमा पद्धति र पारदर्शीतालाई विशिष्टेश ध्यान दिँदै सम्मेलनकै अन्तिम दिन सम्पूर्ण आयव्यय विवरण सार्वजनिक गर्ने बताए। नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीयले भूमिका खेल्ने उनले बताए ।
 
सम्मेलनमा नेपाल सरकारका श्रम मन्त्री शेरबहादुर कँवरको प्रमुख आतिथ्यता रहेने छ। कार्यक्रममा कांग्रेस नेता गगन थापा र एमाले नेता डा सूर्य पाठक आउने छन्। नेपालबाट हास्य कलाकारसहित नेपाल र थाइल्याण्डको विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ। विभिन्न विषयमा विज्ञहरुसहित कार्यशाला गोष्ठीसमेत हुनेछ। सम्मेलनमा सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजकले जनाएको छ । उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनरको व्यवस्था हुने बताएको छ । होटल व्यवस्था सहभागी आफैँले गर्नपर्ने बताइएको छ।
 
पत्रकार सम्मेलनमा एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय सभाबाट पनि पारित गराउन लबिङ गर्दै आएको बताए । उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनको भनाइ छ। एनआरएनएकी अध्यक्ष रविना थापा र डा बन्द्री केसीले एकता अनि मिलापबिना कुनै कार्य गर्न नसकिने तर्क गर्दै सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । 
 
एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतका अनुसार मिलाम क्षेत्रीय सम्मेलनको अब १० प्रतिशत काम मात्र बाँकी रहेको र आफू लगायतको टिम सम्पूर्ण आगन्तुकलाई स्वागत गर्न आतुर रहेको बताएका छन्।