बिश्व घटना

पेरुमा मङ्कीपक्स समुदायस्तरमै फैलियोः उच्च स्वास्थ्य अधिकारी

पेरुमा मङ्कीपक्स समुदायस्तरमै फैलियोः उच्च स्वास्थ्य अधिकारी


लिमा । पेरुमा मङ्कीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् । 
 
उनले पेरुमा अहिलेसम्म  दुई सय ३ जनामा यो सङ्क्रमण पाइएको भन्दै यो सङ्क्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन् ।  
 
यहाँ देखिएका यी सङ्क्रमितहरु अधिकांश पेरुको राजधानी शहर लिमाका छन् । त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाएका छन् ।  पेरुको सरकारले मङ्कीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको सङ्क्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ । 
 
सो संयन्त्रअनुरुप मङ्कीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घन्टाभित्रै दिने गरिएको उनले बताएका छन् । यो सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती सङ्क्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए । एजेन्सी