मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेजाको १५औँ साधारण सभा सम्पन्न

नेजाको १५औँ साधारण सभा सम्पन्न


सान्फ्रान्सिस्को । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १५औँ साधारण सभा सान्फ्रान्सिस्कोमा सम्पन्न भएको छ । 
 
साधारणसभाले सङ्घको विधानमा केही संशोधन गर्नुका साथै नेपाल पत्रकार महासङ्घसँग गर्ने समझदारी पत्रलाई अनुमोदन गरेको छ । समझदारीपत्र अनुसार नेपाल पत्रकार महासङ्घको सदस्य रहेर हाल अमेरिकामा रहेका सदस्यहरुको सदस्यता नवीकरण हुनेछ । 
 
यसअघि नेजाको १५औँ साधारण सभाको नेपाल पत्रकार महासङ्घको महासचिव रोशन पुरीले उद्घाटन गरेका थिए । महासचिव पुरीले नेजाबाट नेपालका पत्रकारलाई वृत्ति विकास, पुरस्कार र समस्या पर्दा नियमितरुपमा आर्थिक सहयोग भइरहेकोमा खुसी व्यक्त गरे ।  
 
नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्ष्यतामा सम्पन्न साधारण सभामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले नेजा र एनआरएनबीच लामो समयदेखि सहकार्य रहिआएको स्मरण गर्दै वृत्ति विकासका लागि सहयोग गर्ने उद्देश्यले यसै वर्षदेखि नयाँ कार्यक्रम सुरु गरिएको जानकारी दिए ।  
 
सुवेदीले अमेरिकामा रहेका नेपाली संस्थाहरु बलियो भएमा नेपालीको हितमा सहयोग पुग्ने उल्लेख गर्दै त्यसमा एनआरएन सहकार्यका लागि सदा तत्पर रहेको बताए । 
 
कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, तामाङ सोसाइटीका टेक लामा, विश्वका सातै वटा अग्ला हिमाल आरोहण गरेकी शैली बस्नेत, एनआरएन अमेरिकाका पूर्वउपाध्यक्ष डिल्ली भट्टराई, नान्सका अध्यक्ष प्रितेष कार्की, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष सहजमान श्रेष्ठ, हिमालय फाउन्डेसनका यज्ञलाल श्रेष्ठ, नेजाका सल्लाहकार रवि अधिकारी, जनसम्पर्क समितिका नारायण खनाल, साधरणसभा आयोजक समितिका संयोजक शिव नेपाललगायतले शुभकामना व्यक्त गरेका थिए ।  
 
साधारण सभाको बन्दसत्रले महासचिव सुरज भण्डारीले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष प्रभात भट्टराईले पेश गर्नुभएको आम्दानी तथा खर्च विवरणको प्रतिवेदनलाई पारित गरेको छ । 
 
यसैबीच, नेजाले एनआरएनसँगको सहकार्यमा स्थापना गरेको नेजा एनआरएन पत्रकारिता पुरस्कार पत्रकारद्वय गिरिश पोखरेल र विजय घिमिरेलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । दुई हजार अमेरिकी डलर राशिको उक्त पुरस्कार प्राप्त गर्ने पोखरेल र घिमिरे करिब तीन दशकदेखि पत्रकारितामा छन् ।