मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ओडेसा बन्दरगाहमा भएको रूसी आक्रमणको निन्दा, युक्रेनद्वाराअन्न निर्यातको प्रयास जारी

ओडेसा बन्दरगाहमा भएको रूसी आक्रमणको निन्दा, युक्रेनद्वाराअन्न निर्यातको प्रयास जारी


वासिङ्टन । अमेरिकाले युक्रेनको ओडेसा बन्दरगाहमा रूसले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ । युक्रेन र रूसले पारस्परिक युद्धका कारण खाद्यान्न आपूर्तिमा रोक नलगाउने सम्झौता गरेको एक दिनपछि भएको उक्त आक्रमणको अमेरिकाले निन्दा गरेको हो । 
 
युक्रेनी कृषि उपज निर्यात पुनः सुरु गर्न सहमति जनाएकोे २४ घण्टा नबित्दै रूसले आफ्नो प्रतिबद्धता उल्लङ्घन गरेकामा त्यसको निन्दा गर्दै युक्रेनका कृषि निर्यातलाई निरन्तरता दिइने अमेरिकाले बताएको छ । ब्ल्याक सीका ओडेसा, चेर्नोमोर्स्क र युज्नी बन्दरगाहबाट  खाद्यान्न र मल निर्यातको अनुमति दिन रूस सहमत भएको थियो ।  
 
क्रेमलिनले युक्रेनमा आफ्नो आक्रमणलाई निरन्तरता दिँदै लाखौँ नागरिकको जीवनको बेवास्ता गरेकामा अमेरिकी विदेशमन्त्रीले वक्तव्य निकालेर रूसको विरोध गरेका छन् । उनले सम्झौताको पालना गर्न र विश्वव्यापी खाद्य सङ्कट ननिम्त्याउन मस्कोलाई आह्वान पनि गरेका छन् ।  यद्यपि रूसले उक्त आक्रमणको खण्डन गरेको छ । टर्कीले पनि ओडेसा बन्दरगाहमा रूसले आक्रमण नगरेको बताएको छ । 
 
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबारको आक्रमणलाई बर्बरताको संज्ञा दिँदै त्यसको कडा शब्दमा निन्दा गरेका छन् । टर्की र संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको सम्झौता कार्यान्वयनमा रूस इमानदार नभएको शनिबारको आक्रमणले पुष्टि गर्छ भन्दै उनले मस्कोलाई विश्वास गर्न नसकिने बताएका छन् । 
 
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि रूसी आक्रमणको निन्दा गरेका छन् । महासचिवका उपप्रवक्ता फरहान हकले रूसी महासङ्घ, युक्रेन र टर्कीले सम्झौताको पूर्ण कार्यान्वयन गर्नु अनिवार्य भएको बताएका छन् । 
 
यसैगरी, युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले पनि रूसको ‘निन्दनीय’ क्षेप्यास्त्र हमलाको आलोचना गरेका छन् । उनले रूसलाई  अन्तर्राष्ट्रिय कानून र प्रतिबद्धताहरूको पालना गर्न अनुरोध गरेका छन् ।  
 
युक्रेनले पनि ओडेसा बन्दरगाहबाट अनाज निर्यात पुनः सुरु गर्ने प्रयास आज थालेको छ । विश्वव्यापी खाद्यान्न अभाव हुन नदिन निर्यातको प्रयास थालिएको पूर्वाधारमन्त्री ओलेक्जेन्डर कुब्राकोभले बताएका छन् । उनले त्यसनिम्ति प्राविधिक तयारी जारी रहेकोे बताए । एजेन्सी