मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न मुख्यमन्त्री पाण्डेको आग्रह

सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न मुख्यमन्त्री पाण्डेको आग्रह


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् । 
 
प्रदेश विनाको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उनले प्रदेशसभा ससद्हरुलाई बलिदानीपूर्ण आन्दोलनले ल्याएको सङ्घीयताको विरोध नगर्न अनुरोध गरे ।  
 
विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उनीहरुलाई सङ्घीयता बलियो बनाउन सहयोग गर्न सुझाव दिए । प्रदेशसभा सदस्यहरुबाट नै प्रदेश खारेजीको माग उठेकामा उनले आपत्ति जनाए । 
 
“सबैको त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ”, उनले भने । गठबन्धन सरकार देशको स्वाधीनता र अस्तित्व रक्षा गर्न सदैव तयार भएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।  
 
यसैगरी आइतबार बसेको प्रदेशसभा बैठकमा दफावार छलफलका लागि चार विधेयक पेस गरिएका छन् । मुख्यमन्त्री पाण्डेले पेस गर्नुभएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । 
 
यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले पेस गरेको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पेस गरेका छन् । रासस