हेटौँडा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने बताएका छन् ।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले आमनिर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए ।
प्रधानमन्त्री देउवाले भने, “सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादितरुपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ बनाउँछ ।” उनले राजनीतिक स्थायित्वका विषयमा पत्रकारिता जगत्ले कलम चलाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजितरुपमै लाञ्छना लगाउनेक्रम बढेको जनाउँदै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखे । उनले भने, “परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका मह¤वपूूर्ण रहेको छ ।” कोभिड–१९ मा सञ्चारमाध्यमको भूमिका मह¤वपूर्ण रहेको स्मरण गर्दै उनले सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने उल्लेख गरे ।
लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ पत्रकारिता जरूरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेसागत सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताए । उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउनुपर्छ भने । उनले भने, “सरकार र जनताकाबीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ । जनताको आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्छ ।”
उनले आर्थिक समृद्धि हासिल गर्न सरकारले आर्थिक ‘प्याकेज’ र पूर्वाधारको योजना नीति तथा कार्यक्रममार्फत कार्यान्वयन गरिराखेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकता वितरणलाई सहजीकरण गर्न सरकारले प्रतिनिधिसभामा नयाँ नागरिक विधेयक दर्ता गरेको जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा प्रजातन्त्रको रक्षाका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रताको जीवन्त राख्न राजनीति दलले आफूलाई सत्ता प्राप्तिको स्तम्भबाट बाहिर निकालेर देश र जनताप्रति उत्तरदायी बहन गर्नुपर्छ भने । उनले भने, “प्रजातन्त्रलाई गतिशील र प्रेस स्वतन्त्रतालाई सधैँ जीवन्त पार्नुपर्छ ।”
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद सिग्देलले प्रजातन्त्रलाई गतिशील प्रदान गर्न प्रेस स्वतन्त्रता आवश्यक हुन्छ भने । उनले भने, “प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्न चुनावी प्रतिस्पर्धामा धेरै उमेदवार भए पनि निर्वाचनपश्चात सबै सञ्चारकर्मीका बीचमा सहकार्य र एकता हुनु जरूरी रहेको छ ।”
समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले संविधानको मर्मअनुसार प्रेस स्वतन्त्रता र प्रजातन्त्रको संरक्षणका लागि सबै प्रेस सङ्गठन एकढिक्का भई अघि बढ्नुपर्छ भने ।
आज शनिबारसम्म सञ्चालन हुने युनियनको राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वको निर्वाचन हुने छन् । शुक्रबारै सम्पन्न भएको बन्दसत्रमा युनियनको प्रतिवेदन, वार्षिक कार्यक्रम र उमेदवारको मनोनयन दर्तासम्बन्धी प्रक्रिया सुरू भएको युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए । महाधिवेशनमा सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ९०० मतदाता सहभागी रहेको छ ।
प्रतिक्रिया