मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एनआरएनएसँगको सहकार्यमा नेजाले पत्रकारिता सम्मान सुरु गर्दै

एनआरएनएसँगको सहकार्यमा नेजाले पत्रकारिता सम्मान सुरु गर्दै


Sana Francisco. नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गैरआवासीय नेपाली संघ अमेरिकासँगको सहकार्यमा पत्रकारिता सम्मान सुरु गर्ने भएको छ । उत्तर अमेरिकी क्षेत्रमा बसोबास गरी डायस्पोरा नेपालीका मुद्दा र चासोबारे कलम निरन्तर चलाइरहेका अग्रज पत्रकारलाई नगदसहित पुरस्कृत गर्ने उद्देश्यले उक्त सम्मान सुरु गर्न लागिएको जनाइएको छ ।
 
पहिलो (नेजा-एनआरएनए अमेरिका पत्रकारिता सम्मान) नेजाको आसन्न १५ औँ साधारण सभामा वितरण गरिने संस्थाका अध्यक्ष विकासराज न्यौपानेले जानकारी दिए । नेजाको दुई दिने साधारण सभा क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा आउँदो शनिबार सुरु हुँदैछ । नेपाली डायस्पोराको प्रवर्धन र आत्मसम्मान अभिवृद्धिका लागि निरन्तर कलम चलाउने अग्रज पत्रकारको कदर गर्ने हेतुले यो सम्मान सुरु गरिएको न्यौपानेको भनाइ छ । 
 
सम्मान पाउने पत्रकारको चयन नेजाले गठन गरेको स्वतन्त्र पुरस्कार छनौट समितिले गर्नेछ । नेजाले बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रमबाट पृथक ख्याती कमाएका पत्रकार नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्सीय छनौट समिति गठन गरेको छ । 
 
नेजासँग सहयोग मार्फत विदेशमा रहेका नेपालीबारे निरन्तर कलम चलाउने पत्रकारलाई सम्मान गर्न पाउनु आफुहरुका लागि सुखद कुरा रहेका एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले बताए । यस्ता पहलले पत्रकारहरुलाई पेशागत निरन्तरताका लागि प्रोत्साहन मिल्ने उनको विश्वास रहेको छ । यो सम्मान पाउने पत्रकारलाई नगद दुई हजार एक अमेरिकी डलर सहित सम्मान पत्र प्रदान गरिनेछ । सम्मान राशी बापतको रकम एनआरएन अमेरिकाले वहन गर्नेछ ।
 
यो सँगै नेजाले हरेक साधारण सभामा वितरण गर्दै आएको सामूदायीक पत्रकारिता पुरस्कार यस बर्ष पनि प्रदान गरिनेछ । आमा फाउन्डेसनको सहकार्यमा प्रदान गरिँदै आएको यो पुरस्कार नेजाको १३ औँ साधारण सभा यता नेपाली भाषामा उत्कृष्ठ समाचार लेख्ने पत्रकारले पाउनेछन् । 
 
यो पुरस्कारका लागि आवेदन दिन नेजाले उत्तर अमेरिकी क्षेत्रका सम्पूर्ण पत्रकारहरुलाई आह्वान गरिसकेको छ । एक हजार एक डलर प्रदान गरिँदै आएको यो पुरस्कारको राशी यसै वर्षबाट बढाएर एक हजार ५५५ अमेरिकी डलर पुर् याउने निर्णय गरिएको नेजाका महासचिव सुरज भण्डारीले जानकारी दिए ।