मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

वाम एकतामा आउन ओलीको आग्रह

वाम एकतामा आउन ओलीको आग्रह


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरेका छन् । नेपाल–चीन हिमालयमैत्री समाजले आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा उनले वामपन्थीहरू एक हुनुपर्नेमा जोड दिए ।
 
अध्यक्ष ओलीले भने, “वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ । ” उनले देश, राष्ट्रियता, लोकतन्त्र, स्वाधिनताका लागि वामपन्थी मिल्नुपर्ने बताए ।
 
पूर्वप्रधानमन्त्री ओलीले मुलुकको आधारभूत मूल्य मान्यता राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने भनाइ राखे । उनले चीन र भारतसँग नेपालले सुमुधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिए । नेता ओलीले आफ्नो मनमा नेपालसँगै मुलुकको स्वाभिमान, स्वतन्त्रता र नेपाली जनताको उन्नति प्रगतिबाहेक अरु केही नभएको प्रष्टीकरण दिए ।
 
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्ति एकता भएमात्र मुलुकको स्वाधीनताको रक्षा हुने भन्दै सबैले एकताका लागि पहल लिनुपर्ने बताए । उनले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड दिए । 
 
“हामी वामपन्थी दल एकले अर्कालाई सिध्याउने नाममा आफैँ सिद्धिँदै छौँ”, उनले भने, “वामपन्थी आन्दोलन सकियो भने मुलुक कमजोर हुन्छ । ” नेता श्रेष्ठले मुलुकको असंलग्न परराष्ट्र नीति, कूटनीतिक मामिलामा सबै दलको एक नीति हुनुपर्नेमा जोड दिए । “परराष्ट्र नीतिमा दलबीच सहमति कायम गर्न सक्यो भने कसैले पनि कमजोर पार्न सक्दैन”, उनले भने ।
 
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूराजनीतिक अवस्थाले नेपालको उपस्थिति कमजोर हुँदै गएको बताउँदै परराष्ट्र नीतिमा सबै दल एक मत हुनुपर्ने बताए । 
 
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै दल मिली परराष्ट्र नीति साझा बनाउनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले छिमेकीसँगको सम्बन्ध पहिले जस्तै हुनुपर्ने भन्दै  परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने बताए ।  
 
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा दिनेश पौडेलले नेपालको भूराजनीतिक हिसाबले चुनौती र अवसर दुवै रहेको बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्वमन्त्री आनन्द पोखरेल र प्राध्यापक खड्ग केसीले नेपालका राजनीतिक दलबीच परराष्ट्र नीतिका सम्बन्धमा एउटै बोली हुनुपर्नेमा जोड दिए । उनीहरूले चीन र भारतसँग रणनीतिक सन्तुलन राख्न आग्रह गरे । rasas