मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’


काठमाडौँ । जापानका लोकप्रिय नेता सिन्जे आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आमनागरिकका बीचमा निकै लोकप्रिय नेता रहेका थिए । 

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुँदै राजीनामा दिएका थिए । 
राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै बिदा लिनु परेको छ । 
आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो । 
सन् १९५४ मा जन्मिएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए । 
राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालीन विदेशमन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनीँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद् भएका थिए । 
उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उपप्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए । मन्त्रिपरिषदमा भने २००५ मा उनले पहिलोपटक सहभागी हुने मौका पाएका थिए । 
उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।  त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । 
त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्याग गरेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए । 
आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् । 
राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका बीचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुबा शिनतारो आबे जापानको विदेशमन्त्री बनेका थिए भने हजुरबुबा नोबुशुके किशी प्रधानमन्त्री थिए । एजेन्सी