मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भने– ममाथि पूर्वाग्रह राखियो

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भने– ममाथि पूर्वाग्रह राखियो


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले आफूले पदबाट राजीनामा दिएको बताए । 
 
विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराए । उनले छानबिन समितिको काम कारबाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताए ।  
 
त्यसअघि प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताए । समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उनले आफूबाट कुनै पनि अनधिकृत काम नभएको स्पष्ट पारे । 
 
तोकिएको मानिसबाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनले दोहो¥याए । अर्थमन्त्रीले भने, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”
 
उनले आफूविरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गरे । अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताए । विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उनले त्यसलाई आफूले रोकिदिएको बताए ।  
 
आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उनले जानकारी दिए । मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छूट दिइएको बताए । 
 
निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उनले स्पष्ट पारे । 
 
अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेश गरे । सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उनले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन भन्ने प्रश्न गरे । रासस