मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्व सुरु भएपछि मध्य एसियाली देशहरू (ताजिकिस्तान र तुर्कमेनिस्तान)को भ्रमण गर्ने कार्यक्रम तय भएको छ । युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
रोसिया-१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको उल्लेख गरेका छन् । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन् ।
राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि हुन् । यसैगरी अस्गाबातमा उनले अजरबैजान, काजाकिस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरू सहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको पनि जारुबिनले बताएका छन् ।
युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्को माथि लगाइएका थुप्रै प्रतिबन्धहरू पछि सार्वजनिक भएको छ ।
यसबाहेक, जर्मनीमा हुन लागेको जी-७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ । जी-७ शिखर सम्मेलनको सन्दर्भमा बभेरियन आल्प्समा भेला भएका विश्वका धनी राष्ट्रहरूका नेताहरूले युक्रेनलाई वार्ताको मुख्य विषयका रूपमा प्रस्तुत गर्ने सङ्केत गरिसकेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएका छन् । सुन रूसको लागि दशौं अर्ब डलरको ठूलो निर्यातको वस्तु हो । यसअघि पनि बाइडेनले ट्वीट गर्दै संयुक्त राज्य अमेरिकाले पुटिनलाई युक्रेनविरुद्धको युद्धको लागि आवश्यक पर्ने ठूलो रकम उठाउने निर्यात हुने वस्तुहरूमाथि प्रतिबन्ध लगाइसकेकोु सङ्केत गरेका छन् ।
त्यस्तै जी-७ देशहरूले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने पनि बताउँदै आएका छन् । रुसविरुद्धका यस्ता कदमहरू शुरुमा बेलायतले सार्वजनिक गरेको थियो । नाम नछाप्ने शर्तमा एक वरिष्ठ अमेरिकी प्रशासन प्रतिनिधिले पत्रकारहरूलाई बताएअनुसार जी-७ ले मङ्गलबार सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्नेछ।
जर्मन चान्सलर ओलाफ स्कोल्जसँग राष्ट्रपति बाइडेनको बैठकको विषय युक्रेन वार्ता हुने सङ्केत ह्वाइट हाउसले गरेको छ ।
‘नेताहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् । साथै युक्रेनलाई रुसी आक्रमणबाट लोकतन्त्रको रक्षा गर्न मद्दत गर्न सैन्य, आर्थिक, मानवीय र कूटनीतिक समर्थनको निरन्तरतालाई जोड दिएका छन्,’ ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विज्ञप्तिमा नेताहरूले विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षामा युक्रेनमा रुसको युद्धको प्रभावलाई कम गर्ने प्रयासहरूबारे पनि छलफल गरेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार स्थानीय समयअनुसार समूह अफ सेभेन (जी-७) का नेताहरूलाई रुसमाथि तीब्र प्रतिबन्धका लागि पश्चिमी राष्ट्रहरूलाई दबाब दिने छन् । ऊर्जाको बढ्दो लागत, विश्वव्यापी खाद्यान्न अभावको डर र युद्धको थकानले द्वन्द्व अब कता जान्छ भन्ने चिन्ताको विषय बनेको छ ।
जेलेनेस्कीले यस हप्ताको म्याड्रिडमा नाटो शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने योजना बनाइरहेका छन् । मस्कोमा तीव्र प्रतिबन्ध र रूसी आक्रमणकारीहरूलाई पराजित गर्न थप हतियारको व्यवस्थाका लागि पश्चिमलाई दबाब दिइएको सीएनएनले उल्लेख गरेको छ । रुसले तत्कालीन युक्रेनी भूभाग (क्रिमिया) गाभेपछि सन् २०१४ मा जी-८ बाट रुस बाहिरिएको थियो । एजेन्सी
प्रतिक्रिया