मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

लागूऔषध दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

लागूऔषध दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले लागूपदार्थको दुर्व्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् ।  
 
लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार आयोजित एक समारोहमा उनले उनीहरुलाई दुर्व्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राखे ।  
 
गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आमनागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । लागूपदार्थको दुर्व्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेकातर्फ सचेत हुन उनले सबैमा अनुरोध गरे ।  
 
उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा चेतनामूलक कार्यक्रमका साथै पाठ्यपस्तकमा लागूऔषध दुव्र्यसनका असरबारेका विषयवस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए । उनले दुर्व्यसनमा फसेका युवालाई सुधार्न विषेश अभियान थाल्नुपर्नेमा जोड दिए ।  
 
उनले लागूऔषध दुर्व्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको जानकारी दिए । “नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रुपमा आइरहेको छ, यसले समाजलाई गम्भीर असर पारेको छ, बढी युवा पुस्तामा असर गरेको छ”, गृहमन्त्री खाणले भने, “सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ ।”
 
उनले आउने दिनमा सरकारले अझै बढी ध्यान दिने, जनजागरुकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुर्व्यसनमा फसेका युवाहरुलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिए । 
 
मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारागारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाणले जानकारी दिए ।
 
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले लागूऔषधमुक्त परिवार, समाज र राष्ट्रनिर्माण गर्न सबै नागरिक आफ्नोतर्फबाट सचेत हुन आवश्यक रहेको बताए ।
 
कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागूऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूलनाराका साथ आयोजित औपचारिक समारोहअघि सचेतनामूलक र्‍यालीसमेत निकालिएको थियो । रासस