मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी प्रभाव बढ्यो : नारायणमान बिजुक्छेँ

युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी प्रभाव बढ्यो : नारायणमान बिजुक्छेँ


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिको प्रभाव बढेको बताएका छन् । भक्तपुर नगरपालिकाको बाह्रौँ नगरसभाको उद्घाटन गर्दै उनले नेपालमा दलको सत्ता मोहले जनताले दुःख पाइरहेको बताए ।  
 
अध्यक्ष बिजुक्छेँले देशको भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्रजस्ता विषयबारे नेतादेखि विद्यार्थीलाई जानकार गराउनुपर्ने जोड दिनुपर्ने औँल्याए। ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थी लाभान्वित हुने बताउँदै उनले मेडिकल माफियाको चलखेलका कारण भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको सम्बन्धन नपाएको बताए ।  
 
अध्यक्ष बिजुक्छेँले अहिले नेपालमा दक्षिणपन्थी शक्ति हाबी भइरहेको आरोप लगाउँदै एसियाबाटै तेस्रो विश्वयुद्ध हुने सम्भावना प्रबल रहेको बताए । कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको आरोप लगाउँदै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको जिकिर गरे । 
 
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर र नगरवासीको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाए । उनले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञको टोलीसमेत गठन गरी आवश्यक तयारी गर्ने, ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालनमा गर्ने, अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको बताए ।  
 
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँ, प्रदेशसभा सदस्य सिर्जना सैँजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशीलगायतले नगरपालिकाले नगरवासीका लागि सहज सेवा प्रदान गर्नुपर्ने बताए । रासस