मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्छ : वरिष्ठ नेता पौडेल

जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्छ : वरिष्ठ नेता पौडेल


मौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले उत्तरदायित्वलाई गहन रुपमा लिनुपर्ने बताएका छन् । 
 
व्यास नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न आइतबार आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिका सामु महत्त्वपूर्ण जिम्मेवारी रहेकाले त्यसलाई पूरा गर्नेतर्फ गम्भीर भएर लाग्न आग्रह गरे ।  
 
जनताको चाहना र आवश्यकतालाई ध्यानमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने पौडेलको सुझाव थियो । “जनताको माग र आवश्यकता के हो त्यसलाई बुझेर काम गर्न सके जनप्रतिनिधि सफल हुन्छन्”, उनले भने । राजनीति र विकासलाई सँगसँगै अगाडि बढाउनुपर्ने उनले धारणा राखे । 
 
विकास राजनीतिको बाटोबाट बाहिर जान नमिल्ने उल्लेख गर्दै नेता पौडेलले भने, “राजनीतिलाई स्थायी बनाएर विकास अभियानलाई पूर्णता दिनुपर्छ । स्थायी राजनीतिका लागि कांग्रेस सदैव क्रियाशील छ ।” भ्रष्टाचार अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न उनले आग्रह गरे ।  
 
कांग्रेस राष्ट्रहितको पक्षमा उभिने पार्टी भएको चर्चा गर्दै पौडेलले देशका लागि सधैँ इमानदारी प्रस्तुत गरिरहेको बताए । “केही दल भ्रम छरेर राष्ट्रवादी बन्न खोज्दैछन्, कांग्रेस विगतदेखि नै राष्ट्रहितका लागि समर्पित छ”, उनले भने । 
 
नेताले कार्यकर्ताको मूल्याङ्कन गर्ने तर जनताले पनि नेताको मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो । नेताको चरित्र बुझेर को सही को गलत छ भन्ने कार्यकर्ताले मूल्याङ्कन गर्नुपर्ने पौडेलले बताए । 
 
सो अवसरमा व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरैलगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलाई बधाई ज्ञापन गरिएको छ । रासस