बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनजीविकासँग जोडिएको मूल्य वृद्धिलगायतका विभिन्न विषयलाई लिएर त्यसका विरुद्धमा आन्दोलन गर्ने भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले त्यसको विरुद्धमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालनका लागि धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही र प्रदेश प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।
स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने, तीन तहको सङ्घीयता नभई केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने भएकाले आगामी निर्वाचनमा सो विषयलाई राप्रपाले जोडदार माग गर्ने उनले बताए । रासस
प्रतिक्रिया