मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

स्थानीय तहको निर्वाचन कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा : प्रवक्ता महत

स्थानीय तहको निर्वाचन कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा : प्रवक्ता महत


काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको बताएका छन् । 
 
कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरी देशभरका ७५३ स्थानीय तहमध्ये ७२८ पालिकाको नतिजा आउँदा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको बताएको हो । “७२८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेसले ३२० स्थानीय तहको प्रमुख र २९४ स्थानीय तहको उपप्रमुख पद जितेको छ, नतिजा हेर्दा सन्तोषजनक छ”, प्रवक्ता डा महतले भने । 
 
सरकारले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्न निर्वाचन आयोगलाई सहयोग पु¥याए पनि प्रतिस्पर्धी पार्टी एमालेका केन्द्रीय नेताको सङ्लग्नता र निर्देशनमा बाजुराको बुढीगङ्गा नगरपालिकामा बाहुबल प्रयोग गरी कांग्रेसका उम्मेदवार र प्रतिनिधिमाथि आक्रमण गर्ने, लखेट्ने, बन्धक बनाउने फर्जी मत हाल्नेलगायतका काम गरेको भन्दै उक्त ठाउँमा पुनःमतदान गर्न निर्वाचन आयोगसँग काँग्रेसले मागसमेत गरेको छ । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना रोकिएकाले यसमा छिटो निर्णय गर्न कांग्रेसले निर्वाचन आयोगसमक्ष अनुरोध गरेको छ ।
 
प्रवक्ता डा महतले संविधानलाई कार्यान्वयन गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वडा तहसम्म लोकतान्त्रिक पद्धतिको अभ्यास र विकास गरी देशको विकास र जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याउने दृष्टिकोणबाट निर्वाचन सफल भएको बताए । 
 
कांग्रेसले अनेकौँ अप्ठ्यारा बाबजुद स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गराउन नेतृत्व लिएको भन्दै पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएको छ । 
 
निर्वाचनको मिति घोषणा भएदेखि नै निर्वाचन सम्पन्न गर्न पार्टीको केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ तथा नगरपालिका कार्य समिति, वडा तथा टोल कार्यसमितिसहित क्रियाशील तथा साधारण सदस्य र आम मतदातालाई धन्यवाद दिएको छ ।
 
स्थानीय तहको मत परिणामले आमजनतामा कांग्रेसप्रतिको विश्वास बढेको उनको भनाइ छ । प्रवक्ता डा महतले गठबन्धनका सन्दर्भमा निर्णय अन्तिम समयमा हुँदा यसको सन्देश मतदातासमक्ष पु¥याउन भएको कठिनाइले केही समस्या आएको उल्लेख गर्दै समग्रमा स्थानीय तहको निर्वाचनमा पाँच दलबीचमा भएको तालमेल सफल भएको बताए । 
 
कांग्रेसले आफ्नो पार्टीको पक्षमा निर्वाचनको परिणाम आउनु पार्टी सभापतिको सुझबुझ पूर्ण नेतृत्व, गठबन्धन सरकारले कोभिड–१९ को व्यवस्थापन, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्धमा देखाएको परिपक्वता, नेकपा सरकारले गरेका संविधान विरोधी गतिविधि, कुशासन र भ्रष्टाचार तथा कांग्रेसले सङ्गठन परिचालनमा देखाएको सक्रियता रहेको जनाएको छ । रासस