मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो : प्रधानमन्त्री देउवा

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन गरिएको हो : प्रधानमन्त्री देउवा


विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलहरूबीच गठबन्धन भएको बताएका छन् ।  ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे । 
 
सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पारे । अहिले कसैको डर र त्रास नभएको अनुभूति जनताले गरेको बताउँदै उनले प्रजातन्त्रको फल गाउँ तहसम्म पु¥याउन गठबन्धन बनेको धारणा राखे ।
 
उनले नेपाली कांग्रेसले धोखा खाए पनि कसैलाई पनि धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताए । 
 
प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिए । स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेश मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको चर्चा गरे । 
 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सरकारले शिक्षा, स्वास्थ्यमा विशेष जोड दिएको चर्चा गर्दै महानगरपालिकामा गबन्धनका उम्मेदवारले जितेमा सहरको विकास र जनताको जीवनस्तर उकास्ने काम गर्ने योजना रहेका बताए । 
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिले स्थानीय तहको निर्वाचनको सरकारलाई खासै असर नगरे पनि कालान्तरमा हुने प्रदेश र सङ्घको निर्वाचनमा धेरै ठूलो असर गर्ने धारणा राखे । उनले सङ्घ र प्रदेशको निर्वाचनमा सफलता हासिल गर्नका लागि पनि अहिले स्थानीय तहमा कार्यकर्ताहरूले मेहेनतका साथ आफ्ना उम्मेदवार जिताउन आग्रह गरे । 
 
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइराला र उपप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले यो निर्वाचनमा सफलता हासिल भएमा नगरको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । उनीहरूले धन आर्जनका लागि नभई जनताका सेवा तथा नगरको विकास गर्न उम्मेदवारी दिएको र हाम्रो सङ्कल्पमा कुनै पनि नागरिकले शङ्का नगरी मत दिन आग्रह गरे । 
 
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा डिला सङ्ग्रौला, भीम पराजुलीलगायतका नेताहरूले कांग्रेसको गठबन्धनमा रहेका पार्टी उम्मेदवारलाई जिताउन आग्रह गरे । रासस