मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विश्व प्रेस स्वतन्त्रता दिवस- २०२२ को अवसरमा नेजा अध्यक्षको शुभकामना :

विश्व प्रेस स्वतन्त्रता दिवस- २०२२ को अवसरमा नेजा अध्यक्षको शुभकामना :


आज विश्व प्रेस स्वतन्त्रता दिवस । युनेस्कोको आह्वानमा सन् १९९३ मा संयुक्त राष्ट्र संघले मे ३ का दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवस घोषणा गरेसँगै मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइँदै आइएको छ । प्रेस स्वतन्त्रताका पक्षधरहरू र प्रेस स्वतन्त्रताको वकालत गर्नेहरूले आजको दिनलाई विशेष महत्व दिँदै आएको पाइन्छ । प्रेस स्वतन्त्रतालाई केवल पत्रकारिता र सञ्चारमाध्यमसँग मात्र जोडेर हेरिनुहुँदैन । यसको सम्बन्ध वाक स्वतन्त्रतासँग पनि रहेको हुन्छ ।
 
मानव अधिकारको विश्वव्यापी मान्यताको एउटा बलियो आधार वाक स्वतन्त्रतासँग प्रेसको स्वतन्त्रता पनि गाँसिएर आएको हुन्छ । यसर्थ, विश्व प्रेस स्वतन्त्रता दिवसलाई मानव अधिकारको दृष्टिले पनि बढो महत्व दिइएको हुन्छ ।
 
हरेक वर्ष मे ३ मा भिन्न नारा दिएर विशेष बनाइएको पाइन्छ । यस पटक “Journalism under Digital Siege” अर्थात् नेपालीमा यसलाई सामान्य रुपमा बुझ्ने हो भने “डिजिटल घेराबन्दीमा पत्रकारिता” भनेर पनि सम्बोधन गर्न सकिन्छ । आज विश्व डिजिटल युगमा प्रवेश गरेको छ । पत्रकारिता पनि डिजिटल दुनियाँको एउटा अभिन्न अंग बन्न पुगेको छ । विश्वको जुनसुकै कुनामा बसे पनि पलभरमै एउटा ग्याजेटमार्फत विश्वका हर कुनामा खबर प्राप्त हुन सक्ने अवस्था रहेको छ । एक प्रकारले भन्दा, यो मिडियाको निम्ति प्रविधिको सदुपयोगसहितको क्रान्ति नै हो ।
 
सामाजिक सञ्जालहरू पनि सूचना सम्प्रेषणका बलिया माध्यम बनेका छन् । सञ्चारमाध्यमहरूले पनि सामाजिक सञ्जाललाई सूचना सम्प्रेषणको बलियो आधारको रुपमा प्रयोग गरेका छन् । यसलाई युगको आवश्यकताको रुपमा पनि लिन सकिन्छ । र, सँगसँगै चुनौती पनि यसले थपिदिएको छ । 
 
विश्वसनीयताको कठघरामा पत्रकार र सञ्चारमाध्यमहरूले आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था पनि बेला–बेलामा आउने गरेको देखिन्छ । यसर्थ सञ्चारमाध्यमहरू र समग्र पत्रकारहरूले अहिलेको प्रविधिको बडो सजगताका साथ उपयोग गर्नुपर्ने खाँचो रहेको छ । अहिले पनि प्रेस स्वतन्त्रताविरोधी घटनाक्रमहरू विश्वभर देख्न सकिन्छ । पत्रकार भएकै कारण, पत्रकारिता गरेकै कारण र प्रेस स्वतन्त्रताको वकालत गरेकै कारण विभिन्न देशमा पत्रकारले ज्यान गुमाउनुपर्ने अवस्था अहिले पनि रहेको छ । प्रेस स्वतन्त्रताको लडाइँका क्रममा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रदाञ्जलीसमेत अर्पण गर्दछौं ।
 
पूर्णप्रेस स्वतन्त्रताको लडाइँमा सबै सँगै रहेर अघि बढ्नका लागि उत्तर अमेरिकामा रहेका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) सबैमा हार्दिक अपिल गर्दछ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उत्तर अमेरिका, नेपाललगायत विश्वभर रहनुहुने सञ्चारकर्ममा आबद्व सञ्चारकर्मी एवम् पत्रकार तथा प्रेस स्वतन्त्रताका अभियन्ताहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
 
विकासराज न्यौपाने
अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ (नेजा)