मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विद्रोहीको कारबाही पुनः विचार गरिने : कांग्रेस

विद्रोहीको कारबाही पुनः विचार गरिने : कांग्रेस


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनः विचार गर्न सकिने जनाएको छ ।
 
कांग्रेसले सोमबार एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो ।
 
पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनः विचार गरेर सार्वजनिकरुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराउन कांग्रेसले आग्रह गरेको छ । 
 
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन निर्देशानुसार अनुरोध गरिएको छ ।
 
उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म समय निर्धारण गरेको थियो । उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी प्राविधिक कारणवश फिर्ता लिएकारगरिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिएको कांग्रेसको भनाइ छ ।
 
विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधिसमेत गुज्रिसकेको परिस्थितिमा त्यस्ता सदस्यको पार्टी सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्कासित हुने वैधानिक व्यवस्था रहेको सन्दर्भमा कांग्रेसले यो आग्रह गरेको हो । रासस