मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढङ्गले अघि बढाऔँ : कांग्रेस महामन्त्री शर्मा

प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढङ्गले अघि बढाऔँ : कांग्रेस महामन्त्री शर्मा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरूले आफ्नो प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढङ्गले अघि बढाउनुपर्ने बताएका छन् । 
 
कांग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक सङ्घको पहलमा तयार गरिएको ‘कांग्रेसलाई जिताऔँ’ गीत सार्वजनिक कार्यक्रममा शुक्रबार उनले हरेकले दलले विगतमा भएरगरेका गल्तीरकमजोरीको जनतासमक्ष आत्मालोचना गरी त्यस्ता कमजोरी नदोहो¥याउने सङ्कल्प र प्रतिबद्धता गर्नुपर्ने बताए । 
 
महामन्त्री शर्माले भने, “स्वस्थ र तथ्यपूर्ण आलोचना गरौँ, आपसमा गाली नगरौँ, प्रतिस्पर्धी उम्मेदवारलाई दुस्मन नठानौँ, मित्रवत् व्यवहार गरौँ, अनि निर्वाचनलाई स्वस्थ बनाउन सहकार्य गरौँ ।”
 
जनतालाई धेरै सपना देखाउने, पूरा गर्न नसक्ने र जनतालाई निराश बनाउने गलत प्रवृत्ति अन्त्य गरी आगामी पाँच वर्षमा गर्न जरुरी काम र गर्न सक्ने काम मात्र सोच्न र बोल्न उनले आग्रह गरे । 
 
आचारसंहिता (संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको सीमाभित्र) पालना आफू पनि गरौँ, अरूलाई पालना गर्न प्रेरित गरौँ भन्दै महामन्त्री शर्माले अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितव्ययी ढङ्गले चुनावी खर्च गर्न आह्वानसमेत गरे ।  
 
पैसा नहुनेले चुनाव लड्न नसक्ने गरी खर्चिलो बन्दै गएको छवि र स्थिति अन्त्य गर्न गम्भीर बन्नुपर्ने र उम्मेदवारको आर्थिक र पारिवारिक जीवनको पारदर्शिता खोज्नुपर्ने उनको भनाइ थियो । सबैले मतगणनामा समेत जिम्मेवार बनेर मत परिणामलाई हार्दिक ढङ्गले स्वीकार गरी स्वस्थ संस्कृतिको जगमा आजको लोकतान्त्रिक व्यवस्थाप्रति जनताको विश्वास अझ बलियो बनाउनतर्फ लाग्न उनले आग्रह गरे ।
 
कार्यक्रममा कांग्रेसका युवानेता गुरुराज घिमिरेले गीत र सङ्गीतले सबैलाई मुग्ध बनाउने भएकाले नेपाली कांग्रेसको शुभेच्छुक संस्था सङ्घले चुनावी गीत ल्याएर प्रशंसनीय कार्य गरेको बताए । उनले कांग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलहरूमा लोकतन्त्र र लोकतान्त्रिक आचरणको कमी भएकाले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गरे । 
 
सङ्घका अध्यक्ष तीर्थ थापाको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका महासचिव शिवशङ्कर रिजाल (जोगेन्दर  पानवाला), सङ्घका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमाल लगायतले आफ्ना धारणा व्यक्त गरेका छन् । 
 
सङ्घको पहलमा यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेसका पक्षमा मतदानको वातावरण बनाउन ‘कांग्रेसलाई जिताऔँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत, राधिका हमाल, सुजाता केसी, शशिविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो । रासस